न्यायका पक्षधर मिले मात्र चमत्कार हुन सक्छ, ‘प्रधानमन्त्री’

फाल्गुण १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्याय र परिवर्तनका पक्षधरहरु मिलेर मात्र चमत्कार हुन सक्ने बताउनु भएको छ ।
२१४४ औं ल्याल्मो ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सबै जातिभित्र फरक फरक वर्गका मान्छेहरु छन् । खस–आर्यभित्र संघीयताका पक्षधर पनि छन्, जनजातिभित्र संघीयताका विरोधी पनि छन् । मूख्य कुरा दृष्टिकोणको हो । न्याय, समानता र परिवर्तनका पक्षधर सबै शक्ति र समुदाय मिले मात्रै चमत्कार गर्न सकिन्छ । यहाँ कुलमानजीको चर्चा चल्यो, कुलमानजीलाई त्यो ठाउँमा लैजान म २ वर्षदेखि लडेको छु । सबै समुदायभित्रका परिवर्तनका पक्षधर एक ठाउँमा उभिएर मात्र देशमा चमत्कार गर्न सकिन्छ ।’
प्रधानमन्त्रीले सरकार संविधानको स्वीकार्यता बढाएर निर्वाचन गर्न केन्द्रित रहेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘आजै मेरो मधेशी मोर्चाका नेताहरुसँग छलफल छ । सरकार संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने संकल्पमा छ । हामीले सबै समुदायको पहिचान र अधिकारका लागि हाम्रो मत प्रष्टसँग राखेका छौं ।’
कार्यक्रममा एमाले नेता कृपाशुर शेर्पाले आफ्नो समुदायको अधिकारका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । कार्यक्रममा शेर्पा समुदायको अधिकार र पहिचानको पक्षमा क्रियाशील विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १६:५९:२४