परिवर्तन चाहने र नचाहनेका बीच सङ्घर्ष चलिरहेको छः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान, लोकतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनः एकपटक सङ्घर्ष जरुरी रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज २० औं जेलब्रेक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

एकजुट भएर जनताबीचमा जाँदा जस्तोसुकै षड्यन्त्रलाई पराजित गर्न सकिन्छ भन्ने तथ्य पछिल्ला दिनमा स्थापित गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक उपलब्धी उल्ट्याउने र देशलाई अराजकतामा धकेल्ने षड्यन्त्र भइरहेको छ ।”

उहाँले रिट निवेदकले माग्दै नमागेको विषयमा गरिएको निर्णयमा पुनरावलोकन हुने विश्वास व्यक्त गर्नुभयो । ठूलो सङ्घर्षका साथ स्थापित समावेशी, समानुपातिक प्रतिनिधित्वलाई खण्डित गर्ने प्रयासविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्षले भन्नुभयो, “यतिबेला पनि हामीले शान्तिपूर्ण रुपमा जनयुद्ध नै गरिरहेका छौँ । हामी अझै एक ढिक्का भएर आन्दोलनमा गयौँ भने जनविरोधी प्रवृत्तिलाई परास्त गर्न सक्छौँ ।”

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई तीन वर्ष अगाडि बनेको नेकपालाई तिमीहरू आ–आफ्नैतिर लाग भनेर गरिएको फैसलालाई उहाँले विचित्रको संज्ञा दिनुभयो । केही विषयमा सर्वोच्चले आफ्नै फैसलाको पुनरावलोकन गरेको भन्दै उहाँहरूले फागुन २३ को फैसला पुनरावलोनक हुने अपेक्षा गर्नुभयो ।

फागुन ११ गते भएको फैसलाको विपरीत पछिल्लो पटक भएको निर्णय आफँैमा मिल्दो नभएकाले त्यो सच्चिने उहाँको भनाइ छ । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले जनयुद्धका कारण नै राज्यका हरेक निकायमा महिलाको उचित प्रतिनिधित्व भए पनि अझै त्यो पुग्दो नभएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १२:१२:५७