राज्य चरम निरंकुश र फाँसीवादको बाटोमा अघि बढ्योः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य चरम निरंकुश र फाँसीवादको बाटोमा अघि बढेको बताउनुभएको छ ।

शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड भन्नुभयो, ‘नेपाली जनताको सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन खोजिँदैछ, राज्य आफैंले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोज्दैछ ।’ उहाँले लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलव्धीहरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गत पुस ५ गते संसद विघटन गरेर त्यसको संकेत दिएको भन्दै आन्दोलनको बलमा संसद पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य भैनसकेको बताउनुभयो ।

अध्यक्षले नियम, मुल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्वनाको समाना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा माणिकलाल श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताउनुभयो ।

प्रतिगमनकाविरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उहाँको भनाई थियो । स्व. माणिकलाल श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै उहाँ स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताउनुभयाे। उनले वर्तमान परिस्थितीमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने बताउनुभयाे ।

कात्तिक ७, २०८१ बुधबार १४:१४:२२