पार्टी एकता सम्मानित, न्यायोचित र समानताका आधारमा हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच हुन गइरहेको पार्टी एकता सम्मानित, न्यायोचित र समानताको आधारमा हुने समझदारी भएको बताउनु भएको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवस तथा १६८ औं लेनिन जयन्तीको अवसरमा राजधानीमा अयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।

अध्यक्षले भन्नुभयो, ‘दुई पार्टीका अध्यक्षका बीचमा मोडालिटी तयार भएको छ, त्यो मोडालिटी भनेको सम्मानित, न्यायोचित र समानताका आधारमा पार्टी एकता हो ।’ उहाँले पार्टी एकता भनेको वा तोकिएको दिनमा नभई नभनेको वा नतोकिएको दिनमा हुने बताउनु भयो ।

पार्टी एकता जनताको सम्पति भएको बताउँदै यसबाट पछि हट्ने कहीँ कसैलाई छुट नभएको उहाँको धारणा थियो । अध्यक्षले भन्नुभयो, ‘वाम तालमेलले मात्र राष्ट्रको आवश्यकतालाई सम्वोधन गर्न र कम्युनिष्ट आन्दोलनको भविश्यलाई सुनिश्चित गर्न नसक्ने भएकाले परिपक्क ढंगले हामीले पार्टी एकतामा जाने निर्णय गरेका हौं ।’

उहाँले कम्युनिष्ट पार्टीहरुको एउटै केन्द्र बनाएर राजनीतिक स्थिरता, विकास र समृद्धि तिर देशलाई लैजानु पर्ने बताउनु भयो । ‘हामीलाई जनताले स्थिरता, विकास र समृद्धिका लागि भरोसा गरेका हुन्, उहाँले भन्नुभयो ।

लामो समयदेखि कम्युनिष्ट केन्द्र निर्माणको लागि एकताको छलफल र बहस चलेको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीहरुले राष्ट्रको विकास र नेतृत्व गर्ने गरी शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने हो, दुई पार्टी मात्रै मिल्ने होइन ।’

उहाँले आफूहरु राष्ट्रिय एकता, समृद्धिको लागि एक भएर अगाडि बढ्ने तर हतारमा पार्टी एकता गरेर पश्चताप गर्ने पक्षमा नरहेको बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार १२:१५:५७