‘पुरानो पार्टी भत्काउने र नयाँ बनाउने नै मार्क्सवादी सोचाई हो’

पोखरा, २४ जेठ । अध्यक्ष प्रचण्डले पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने सोचाई  मार्क्सवादी भएको बताउनु भएको छ । पोखरामा सोमबार ४ नम्बर प्रदेशको एकता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालमा मौलिक बिचारको संश्लेषणको आवश्यकता छ, त्यो संश्लेषणको आवश्यकतासँग हाम्रो यो पार्टी एकता पनि जोडिएको छ ।’

उहाँले सो अवसरमा माओवादी एकतावद्ध नभई राष्ट्र एकतावद्ध नहुने पनि बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘सरकारको नेतृत्व गर्नु र नगर्नु हाम्रो लागि मुख्य कुरा होइन,’ उहाँले भन्नुभयो, ‘मुद्दामामिलाका कुरा टुंगिन्छन् कि टुंगिदैनन् भन्ने हाम्रो लागि मुख्य कुरा हो ।’ अध्यक्षले शान्ति प्रक्रिया विथोलेर माओवादी आन्दोलनलाई धराशायी पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुको षड्यन्त्र चलिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विस्तृत शान्ति सम्झौता र अन्य संक्रमणकालिन न्यायको सिद्धान्तअनुसार यो आन्दोलन सम्बोधन हुन्छ कि हुँदैन, हाम्रो लागि मुख्य त्यो हो ।’  एकता भेलालाई नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, तिलक परियार, नेतृ जयपुरी घर्ति लगायतले सम्बोधन गर्नुभएको थियो ।

आज बिहान पोखरामा प्रेस सेन्टर नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्षले भद्र सहमति भद्र नै हुने भन्दै त्यसका विषयमा बढ्ता चर्चा जरुरी नरहेको बताउनु भयो ।
संसदबाट बजेट पारित भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच तीव्र छलफल हुने उहाँको भनाई थियो । भूकम्प गए पश्चात नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको वकालत गरेको र सहमति भएर पनि बीचमा परिस्थिति बदलिएको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बिहीबार ५:११:४७