समृद्धि र सुशासनका लागि सात सदस्यीय कार्यदल

काठमाडौं, ७ माघ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।
आइतबार एमाले अध्यक्ष ओली निवासमा बसेको बैठकमा बाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए बमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सात सदस्यीय कार्यदल गठन गरिएको हो । एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा एमालेबाट भीम रावल, डा. विजय पौडेल, युवराज खतिवडा र माओवादी केन्द्रबाट वर्षामान पुन, गीरिराजमणि पोखरेल र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहनु भएको छ ।
आइतबारको बैठकले प्रदेश सरकारको गठन र राष्ट्रिय सभाको निर्वाचनबारे रिपोर्ट पेश गर्न बनेको संयुक्त कार्यदलको प्रस्तावलाई अनुमोदन गरेको छ । जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेद्वार रहनेछन् ।
संयोजन समितिको बैठकले प्रदेश सरकार, मूख्य मन्त्री, सभामूख लगायतका पदहरुको विषयमा रिपोर्ट पेश गर्न कार्यदललाई थप समय प्रदान गरेको छ । राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन् । शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेश गरेकोमा कार्यदललाई धन्यवाद दिनुभएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका बारेमा भएको प्रगतिबारे बैठकलाई बिफ्रिङ गर्नुभएको थियो । अध्यक्षद्वयले पार्टी एकताबारे आफूहरुबीच असाध्यै सकारात्मक वातावरणमा छलफल चलिरहेको र वैचारिक एवं संगठनात्मक विषयमा एक–दुई दिन थप छलफल गरेर वैचारिक र संगठनात्मक कार्यदल गठन गर्न बैठकमा प्रस्ताव गर्नुभएको थियो ।
आइतबारको बैठकले एक–दुई दिन थप छलफल गरेर कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी एकता संयोजन समितिका सदस्य र संयुक्त कार्यदलका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार ९:१७:२७