प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोजेकाे बताउनुभएकाे छ ।

योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उहाँले गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरि तत्व लागिपरेका छन् ।” संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भएसँगै यसको फाइदा लिँदै परिवर्तन नचाहने यसलाई उल्ट्याउन लागिपरेको उहाँको भनाइ थियो । उहाँले केही दिनमा नै नयाँ युगको शुरुआत हुने बताउनुहुँदै कांग्रेससहित दलसँग सरकार परिवर्तनका विषयमा छलफल भइरहेको जानकारी पनि दिनुभयाे ।

उहाँले भन्नुभयो, “प्रदेशबाट शुरु भएको परिवर्तन केही दिनमा नै केन्द्रमा पनि हुँदैछ ।” आफू अहिले पनि कम्युनिष्ट एकताका पक्षमा रहेको बताउँदै उहाँले प्रतिक्रियावादी शक्ति लागेर पार्टी विभाजन गराएको दाबी गर्नुभयो । माडीका समस्या समाधान गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:१५:१८