प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन अध्यक्ष प्रचण्डको अपील

सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।

शुभकामना


विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाली मुक्तिकामी जनसमुदाय तथा विश्व सर्वहारावर्गमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुमा स्वास्थ्यलाभको कामना गर्दछु ।

नेपाली कम्युनिष्ट आन्दोलन वि.सं. २००६ सालदेखि वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । महान् लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको हो ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।

सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।

तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न महान् लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्दछ । पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन हार्दिक अपील गर्दछ ।

०९ बैशाख, २०७८ (२२ अप्रिल)
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ७, २०८१ बुधबार ९:१८:४२