प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध र संविधान रक्षाका लागि सडकमा आएका हौं: अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको बताउनुभएको छ । बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले आफू अहिले फेरि सडकमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो मन्त्रीपरिषद् बैठकबाट पहिलो निर्णय जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई सम्मान गर्ने निर्णय गरेको थिएँ । तर, प्रतिगमनकारीले उक्त निर्णय लुकाइएको छ र दबाइएको छ ।’ उहाँले जनमुक्ति सेनाका समस्याबारे आफू सचेत रहेको भन्दै अब आफ्नो लागि नभई मुलकमा समाजवादका लागि जीवन बिताउने बताउनुभयो ।

‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तरपनि हामी त जनताकै घरदैलोमा थियौँ, तर आज ओली नेतृत्वको सरकारचाहिँ जंगली राजमा चलेको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उहाँले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको स्पष्ट पार्दै हिजो टाउकोको मूल्य तोकेर किनबेच गर्न खोजे अहिले घाइते अपाङ्गलाई पैसा दिन्छु भनेर किन्न खोजेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मायाले होइन । यो परिवर्तन सक्न माओवादीलाई नै प्रयोग गर्न खोजेका हुन् । हिजो बहिर्गमित जनमुक्ति सेना प्रचण्डको चेलाचपेटा भन्दै बेवास्ता गर्ने ओलीले अहिले पार्टी फुटेपछि चाहिँ तिनै बहिर्गमित जनमुक्ति सेना खोज्न थालेका हुन् ।’

उहाँले केपी ओलीले अहिले आफूलाई समेत जोडेर ‘कालीबहादुर खाम कहाँ छन्, प्रचण्डले हेरेको छ ?’ भनेर भन्ने गरेको सुनेको भन्दै ‘के केपीले हेर्छन् जस्तो लाग्छ तपाइँहरुलाई ?’ भनेर प्रश्न समेत गनुर्भभयो । उहाँले ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको बताउनुभयो ।

‘प्रधानमन्त्री ओलीले अहिले बहिर्गमित जनमुक्ति सेनालाई खरिद गरिरहेका छन् । एक सय जना बालुवाटार लिएर गयो भने १०/२० लाख कति दिन्छन् । दुई सय लिएर जानुभयो भने २०/३० लाख कति हो’, उहाँले भन्नुभयो, ‘त्यसलाई माया गर्यो भन्ने ठानियो भने दुर्भाग्य हुन्छ । भेडाबाख्रा सम्झेर खरिद गरेका हुन् । हिजो पनि हामीहरूको टाउकाको मूल्य तोकेका थिए । अहिले पनि तोके,’ उहाँले भन्नुभयो ।

उहाँले लडाइँभन्दा पनि विचार र राजनीतिले युद्ध जितिने बताउनुहुँदै बहिर्गमित जनमुक्ति सेनाका माग पूरा गर्ने समय आउन लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘तर, नआत्तिन, हिम्मत नहार्न र पैसामा नविक्न आग्रह म आग्रह गर्दछु ।’ अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको प्रदेश स्तरीय विशेष कमिटी गठन गर्ने र त्यसले सबैलाई समेट्ने र सम्मान गर्ने बताउनुभयो ।

जनयुद्धका घाइते, अपाङ्गको लागि राहत, उपचार, जीविकोपार्जनका लागि दिने सेवासुविधा ओली सरकारले घटाएको उहाँको भनाई थियो । अध्यक्षले पूर्व जनमुक्ति सेनाहरुलाई हरेक पार्टी कमिटीमा स्थापित गर्न नसक्नु कमजोरी भइएको बताउनुभयो ।

उहाँले जनमुक्ति सेनाका समस्याबारे आफू सचेत रहेको भन्दै अब समाजवादका लागि जीवन बिताउने बताउनुभयो । ‘म दुई पटक प्रधानमन्त्री भएँ, तर म एक्लै प्रधानमन्त्री भइनँ, पहिलो चोटी एमाले र दोस्रो चोटी काँग्रेसको साथमा प्रधानमन्त्री भएँ तर त्यसबेला सहयात्रीले खुट्टा झिक्दा ढलिहाल्ने स्थिति थियो’, उहाँले भन्नुभयो ।

कात्तिक ६, २०८१ बुधबार ५:२३:४९