प्रथम निर्वाचन दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले गर्नुभएको सम्बोधन मन्तव्य

सम्माननीय राष्ट्रपतिज्यू
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायधिश ज्यू
सम्माननीय सभामूखज्यू,
माननीय प्रमूख निर्वाचन आयुक्तज्यू,
माननीय आयुक्तज्यूहरु,
तथा उपस्थित महानुभावहरू,

आजको दिन नेपालकै इतिहासमा सर्वप्रथम आम निर्वाचन सुरु भएको दिन हो । २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक आम निर्वाचन सुरू भएको थियो । जनताले चुनेका प्रतिनिधिहरु पहिलोपटक शासन सत्तामा पुगेको यस दिनको महत्वलाई चिरस्थायी बनाउन निर्वाचन आयोगले आज निर्वाचन दिवस मनाउन लागेकोमा खुशी व्यक्त गर्दै यस दिवसको सफलताको शुभकामना व्यक्त गर्दछु ।
देश २००७ साल र त्यसपछिका विभिन्न क्रान्ति तथा जनसङ्घर्षको परिणामस्वरूप जनताले चुनेका प्रतिनिधिहरुले संविधानसभावाट बनाएको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विधि भनेको निर्वाचन मात्रै हो । आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन पूरा गरी संविधानको कार्यान्वयन गर्ने दायित्व हाम्रोसामु छ । निर्वाचनको स्वच्छता तथा सर्वस्वीकार्यताको माध्यमबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र खास गरी वर्तमान सन्दर्भमा संविधान कार्यान्वयन गर्न गराउन मद्दत पुग्ने हुनाले निर्वाचन नै आजको महत्वपूर्ण आवश्यकता रहेको छ ।
नेपाल सरकारले मन्त्रीपरिषदको बैठकबाटै निर्वाचन आयोगलाई आगामी बैशाख अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको र रिक्त रहेका निर्वाचन आयुक्तहरुको पदपूर्तिले पूर्णता पाएको सन्दर्भमा अब निर्वाचनप्रति आशङ्का गरिरहनु जरुरी छैन । सरकारले स्थानीय निर्वाचन तयारी गर्न अनुरोध गरिसकेको सन्दर्भमा आयोगले त्यसतर्पm आफ्नो तयारी बढाएको छ भन्ने कुरामा म विश्वस्त छु । साथै सबै राजनीतिक दलहरूसँगको छलफल र समन्वयमा निर्वाचनको मिति घोषणा गर्न र स्थानीय तहको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई छिट्टै आयोगलाई उपलब्ध गराउने दिशामा सरकार गम्भीर रहेको कुरा जानकारी गराउन चाहन्छु ।
संवैधानिक व्यवस्थाअनुरूप राज्य व्यवस्थाका निर्वाचित अङ्गहरूमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र समूदायको प्रतिनिधित्व गराउन र खास गरी स्थानीय तहमा ४० र सङ्घीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न एवं निर्वाचनमा आधिकाधिक जनसहभागिता जुटाउन मतदाता शिक्षा र सूचनाको ज्यादै महत्व हुने हुनाले आयोगको ध्यान यसतर्पm पनि गएकै हुनुपर्दछ भन्ने विश्वास लिएको छु ।
निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन छिटो, छरितो तथा कम खर्चमा व्यावसायिक ढङ्गले सम्पन्न गर्न विभिन्न सुधार कार्य गर्दै आएको सन्दर्भमा निर्वाचन प्रक्रियामा सुधार गर्न थप गहन ढङ्गले कार्य गर्न र आवश्यकता र औचित्य अनुरूप निर्वाचनमा विद्युतीय प्रणालीको प्रयोगको अलावा अन्य वैकल्पिक उपायहरूको सम्बन्धमा अध्ययन गर्न उपयुक्त हुने विषय राख्न चाहन्छु । साथै उमेर पुगेका कोही पनि नेपाली नागरिकको नाम मतदाता सूचिमा नछुटोस् भन्नेतर्फ आयोगको ध्यान जानेछ भन्नेमा बिश्वस्त छु ।
१ करोड ४० लाखभन्दा बढी मतदाताहरूले मतदानमार्पmत् आफ्नो अभिमत व्यक्त गरी स्वशासनको अभ्यास गर्ने बृहत परिघटनाको रूपमा सम्पन्न गरिने निर्वाचन एक राष्ट्रिय अभियान भएकाले उक्त अभियानमा पूर्ण रूपमा साथ र सहयोग दिन म सम्पूर्ण राजनीतिक दल, आम नागरिक, मित्र राष्ट्रहरू तथा सबै सरोकारवालाहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु ।
संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेकाले निर्वाचन आयोगलाई आर्थिक, मानवीय लगायतका सबै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि ब्यक्त गर्दछु र, यसै अनुरूप गर्न गराउन सम्वद्ध सरकारी निकायलाई निर्देशन पनि दिन चाहन्छु ।
अन्त्यमा पुनः प्रथम निर्वाचन दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै निर्वाचन दिवस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु, धन्यवाद ।

२०७३ साल फागुन ७

कात्तिक ७, २०८१ बुधबार ७:२३:५६