हेडक्वार्टर बैठकमा राजनीति र संगठनबारे समीक्षा

फाल्गुण ७, काठमाडौं । नेकपा (माओवादी केन्द्र) हेडक्र्वाटर बैठक शनिबार साँझ सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीति र माओवादी केन्द्रको संगठनात्मक विषयबारे समीक्षा गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको सम्वादबारे बैठकलाई जानकारी गराउनु भएको थियो । बैठकमा हेडक्वार्टर सदस्यहरुले पार्टी आन्तरिक संगठनात्मक विषय, संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनबारे आफ्ना सुझावहरु राख्नुभएको थियो ।
बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय संगठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको छ ।
राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै हेडक्वार्टर बैठकले स्थानीय तहको निर्वाचन निर्बिकल्प भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर सदस्यहरुले अन्तिमपटक सत्तारुढ नेपाली कांग्रेस, मधेशी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हेडक्वार्टर सदस्य तथा प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१२:४५