प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन

भदौ ३, काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् दुई देश बीचको आपसी सम्बन्धबारे चर्चा गर्दै नेपाल र भारतको शान्ति, स्थिरता र समृद्धि दुबै देशको साझा उद्धेश्य भएको बताउनु भएको छ ।
पत्रकार सम्मेलनको सुरुमा सम्बोधन गर्नुभएका भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नजिकको छिमेकी रहेको कारण भारतले नेपालको समृद्धिको हरेक पाइलामा सहयात्री बन्न अवसर पाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र स्थायित्व स्थापना गर्न ठूलो भूमिका खेलेको बताउदै प्रचण्डकै नेतृत्वमा सबै समुदायको चाहनालाई सम्बोधन गर्दै नेपालको संविधान कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री मोदीले द्वीपक्षीय सहकार्यका लागि भारत सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्री प्रचण्डजीलाई भारत नेपालको विकासको सहयात्री बन्न सदैव तयार रहेको बताउन चाहन्छु । नेपालको सरकार र जनताको प्राथमकिताको आधारमा हामी सदैव सहयोग गर्न तयार छौं ।’
संयुक्त पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष नेपालले ऐतिहासिक रुपमा संविधान निर्माण गरेको बताउँदै त्यसप्रति आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले दुई देश बीचको आपसी सहकार्यबाट नै ब्यापार, विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति हुने बताउँदै नेपालको विकासमा निम्ति भारतले विभिन्न आयोजनामार्फत् गरेको सहयोगको स्मरण गर्नुभयो ।
प्रधानमन्त्रीका रुपमा दोश्रोपटक भारत भ्रमण गरेको बताउँदै उहाँले भारतको स्वागत तथा सम्मानका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालले सधै पञ्चशीलको सिद्धान्तका आधारमा नै दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने नीति लिएको बताउँदै कुनै समस्या आएका नेपाल सधैँ खुला ढंगले छलफलमा बस्न चाहेको स्पष्ट पार्नुभयो ।
ब्यापार र विद्युत प्रशारण लाइनको योजना अगाडि बढाउनु आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर जलविद्युत आयोजना अगाडि बढेमा दुबै देशलाई फाइदा पुग्ने बताउनु भयो । प्रधानमन्त्रीले नेपाल भारत सीमामा हुने अपराध नियन्त्रण गर्न संयुक्त सुरक्षा संयन्त्र राख्ने, विद्युत प्रशारण लाइन बिस्तार अगाडि बढाउने, नेपालको सीमानासम्म रेल्वे लाइन विस्तार गर्ने लगायतका विषयमा भएका सम्झौता महत्वपूर्ण भएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १९:१९:५५