प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्रीको रात्रिभोज

इन्दोर, मध्यप्रदेश (भारत०, १९ जेठ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । यहाँस्थित होेटल म्यारियटमा मुख्यमन्त्री चौहानले नेपाल र भारतबीच सदिऔँदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप विस्तार गर्नका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमण भएकामा प्रसन्नता व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डसँगै नेपाली ढाका टोपीमा देखिनुभएका चौहान र उहाँका सरकारका वरिष्ठमन्त्रीको समेत त्यस अवसरमा सहभागिता थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू र आफ्नो प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएका मुख्यमन्त्री चौहानलाई धन्यवाद दिनुभयो । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलमा रहनुभएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोेलप्रसाद गजुरेल, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतको सहभागिता थियो ।

इन्दोर सहरमा नेपाल र भारतबीचको मैत्री सम्बन्ध अमर रहोस्, नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत छ लेखिएका होर्डिङ बोर्ड राखिएका छन् । चोक चोकमा अनेकन झाँकी प्रस्तुत गरिएको थियो । उक्त झाँकीमा यहाँ रहेका नेपालीको सहभागिता थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सार्नुभएको स्वच्छ भारत अभियानको सफल उदाहरणको रूपमा इन्दोरलाई लिन सकिन्छ । सडक, चोक, गल्ली कतै पनि सामान्य फोहरसमेत देखिँदैन । खास अर्थमा स्वच्छ भारत अभियानको नेतृत्व गरेको यस सहरले प्राप्त गरेको सफलतालाई नेपालको सङ्घीय राजधानी काठमाडौँमा प्रयोग गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापनको यस ढाँचाका बारेमा सरकारले थप अध्ययन गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

फोहरलाई मोहर बनाएको इन्दोरलाई यस दिशामा अगाडि बढाउन आफूहरूको ठूलो मेहनत परेको इन्दोर नगर निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहको भनाइ छ । नेपाल सरकारले यस पटकको नीति तथा कार्यक्रममा वातावरण संरक्षण र फोहर व्यवस्थापनको विषयलाई विशेष महत्त्व दिएको छ । भारतको यस सहरले कार्बन क्रेडिट बिक्री गरेर मात्रै आठ करोड ३४ लाख भारतीय रुपैयाँ आम्दानी गरेको छ ।

असोज ६, २०८१ सोमबार ३:१५:५५