प्रधानमन्त्री प्रचण्डद्वारा खप्तड क्षेत्रको अवलोकन, प्रतिष्ठान बनाउने घोषणा (फोटो फिचर)

काठमाडौं। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड खप्तड क्षेत्रको अवलोकन गर्नुभएको छ । पहिलो खप्तड अन्तराष्टिय अध्यात्मिक सम्मेलनको उदघाटन गर्न खप्तड क्षेत्र पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रलाई अन्तर्राष्टिय महत्वको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुदूरपश्चिमाञ्चल प्रदेशको समग्र विकासका लागि नयाँ ढंगले लागिपरेको बताउनुहुँदै वहाँले खप्तडको विकासका लागि प्रतिष्ठान वा कोष बनाउने घोषणा गर्नुभयो । सुदूरपश्चिमको विकासका लागि स्वास्थ्यविज्ञान विश्वविद्यालयको मन्त्रिस्तरीय निर्णयदेखि सीपमा पुलहरु, सुक्खा बन्दरगाहदेखि अन्य आयोजनाहरुलाई महत्व दिएको बताउनुहुँदै वहाँले पर्यटनको उच्च सम्भावना बोकेको सुदूरपश्चिमका बिभिन्न क्षेत्रहरुको विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

“बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने छ।” वहाँले भन्नुभयो, “खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत तयार गरिसकेको छ । खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।”

 

असोज ६, २०८१ सोमबार ५:१९:४