प्रधानमन्त्री प्रचण्डद्धारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्नुभएकाे छ । आज बुटवल पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइएमी ग्रुपले गत जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको सो केबलकारको आज औपचारिक उद्घाटन गर्नुभएकाे हाे  ।

बुटवलमा पहिलो पटक केवलकार सञ्चालन भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

स्थानीयको साथ र सहयोगले केबुलकार सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको आइएमी ग्रुपले जनाएकाे छ । केबलकारको गन्तव्य स्थान पाल्पाको वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने बताइएकाे छ ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा)रहेका रहेका छन् ।

असोज ७, २०८१ सोमबार १३:८:४२