प्रधानमन्त्रीद्धारा खिम्ती—ढल्केबर प्रसारण लाइनको उद्घाटन

माघ २०, खिम्ती । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको खिम्तीस्थित खिम्ती—ढल्केबर २२० प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ । बिहीबार उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सहित खिम्ती पुगेर प्रधानमन्त्रीले प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइनको काम पनि अघि बढिरहेको छ । तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो । यसमा सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।’
सरकारले आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरु समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा गएको छु । समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोका लागि, राम्रोका लागि, गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरौं । यसले मात्र देशको मुहार बदल्न सक्छौं ।’
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपाल अभियानले जनतामा उत्साह भरेको बताउनु भयो । शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा उज्यालो नेपाल अभियान चलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामी महत्व छ । उज्यालो नेपाल अभियान जनतामा उत्साह भर्ने अभियान हो । यो राष्ट्र निर्माणको अभियान हो, गरे सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ । हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ ।’
अहिलेसम्म १३२ केभी प्रसारण लाइन मात्रै सञ्चालन हुँदै आएकोमा नेपालमा पहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा घिसिङले २०६२ मा प्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको, आयोजना सम्पन्न गर्न १ अरब ९५ करोड लगानी भएको तथा विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानी रहेको र खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा उर्जा राज्यमन्त्री सत्यनारायण भगत, सांसदहरु श्यामकुमार श्रेष्ठ, शिबकुमार खड्का, कमला सुवेदी घिमिरे, पूर्व राज्यमन्त्री देवी खड्का, उर्जा मन्त्रालयका सचिव अनुपराज शर्मा लगायतले बोल्नुभएको थियो ।
००००००००००००००००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गर्नुभएको मन्तव्यको अंश
— नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइन अघि बढिरहेको छ । तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो । यसमा सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
— विकास आयोजनाहरु समयमा पुरा नहुनु निकै दुखलाग्दो विषय हो । निहित स्वार्थवश कतिपय आयोजनाहरु जानीबुझी ढिलो गराइने गरेका छन्, यसलाई बदल्न हामी सबैले संकल्प गरौं ।
— म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरु समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा जाने गरेको छु । योपटक सबै क्षेत्रमा पुगेर समयभन्दा अगाडि नै आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । सबैले सबैलाई भनेको छ, तोकेको समयभन्दा अगाडि नै गुणस्तरीय काम गर्नुहोस् ।
— समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोका लागि, राम्रोका लागि, गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरौं ।
— जलविद्युत् र उर्जा क्षेत्रमा नेपालको प्रचुर सम्भावना छ । जनार्दनजीलाई उहाँको क्षमता देखेर नै उर्जा मन्त्रालयको जिम्मा दिएको हुँ । कुलमानजीलाई कार्यकारी निर्देशक बनाउँदा मैले ठूलो संघर्ष गर्नुपर्यो । सही मान्छेलाई सही जिम्मा दिँदा ठूलो उपलब्धि हुन सक्दो रहेछ । व्यवस्थापनमा सुधार गर्यो भने मेहेनत र इमान्दारिता देखायो भने ठूलै काम हुँदो रहेछ ।
— प्रसारण लाइनको अभावमा थुप्रै आयोजना रोकिएका वा सम्भाव्यता अध्ययन नै नभएका हाम्रा अनुभव छन् । विद्युतीकरण नै नेपालको आर्थिक विकास, औद्योगिकरण र आर्थिक समृद्धिको आधार हो । प्रकृतिले हामीलाई ठूलै बरदान नै दिएको छ । विद्युतीकरणले नेपालको भविष्यमै कायापलट ल्याउन सक्छ ।
— विद्युत उत्पादन गरे त्यसको खपत् नेपालमै हुन्छ । विद्युतको बजार छैन भनेर उत्पादनमा ध्यान नदिने सोंच परम्परावादी र रुढीवादी सोंच हो, अझ हजारौं मेघावट विद्युत् नेपालमै खपत हुन सक्छ ।
— आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । आजको बैठकबाट निर्वाचन आयोगलाई निर्वाचनको कार्यक्रम अगाडि बढाउन आग्रह गरिनेछ, यसले राजनीतिक गतिरोध र अन्यौल हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
— बिखण्डनवादी शक्तिसामू सरकार चुप लागेर बस्दैन । नेपालको स्वाभिमानमाथि कुनै खालको सम्झौता हुँदैन, त्यसका विरुद्ध सरकार कठोर भएर उभिनेछ । हाम्रो राष्ट्रिय र भावनात्मक एकतालाई कसैले कमजोर पार्न सक्ने छैन ।
— संविधान एक गतिशील दस्तावेज हो । यसलाई संशोधन गर्दै, परिमार्जन गर्दै सबैको स्वीकार्यता बढाएर अघि बढ्नुपर्छ, यसको बिकल्प छैन । तर, एकथरि शक्तिहरु उज्यालो मन पराउँदैनन्, परिवर्तन मन पराउँदैनन्, उनीहरु अध्याँरोमै षड्यन्त्र गर्न रुचाउँछन् । तर, सरकारलाई त्यो मान्य छैन ।
— राष्ट्रिय एकताको परिभाषा सधैं एउटै हुँदैन । सामन्ती कालमा व्याख्या गरिएको राष्ट्रवाद गणतन्त्रको युगमा पनि उस्तै हुँदैन । गणतन्त्रको युगमा समावेशी लोकतन्त्र नै वास्तविक राष्ट्रवाद हो, राज्यमा सबैको समान सहभागिताको व्यवस्था गर्नु नै राष्ट्रिय स्वाभिमान हो, राष्ट्रिय एकता हो ।
— लोडसेडिङ अन्त्य गर्न, विद्युत क्षेत्रका समस्या समाधान गर्न सरकार सधैं तयार छ । म सधैं जनार्दनजी र कुलमानजीको साथमा छु । तपाईहरुलाई कहाँ अप्ठ्यारो पर्छ भन्नुस्, म सबै सहयोगका लागि हरदम तयार छु ।
— मैले आर्थिक क्रान्तिको सपना देखेको छु । राजनीतिक एकता कायम गर्न सक्यौं भने हामीले आर्थिक क्षेत्रमा चमत्कार गर्न सक्छौं । त्यसका लागि राजनीतिक तहमा नयाँ संकल्प आवश्यक छ, म सबैमा अपील गर्न चाहन्छु ।

कात्तिक ७, २०८१ बुधबार १७:१७:२३