प्रधानमन्त्रीसँग इण्डोनेसियन राजदूतको बिदाई भेट

माघ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गर्नुभएको छ । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गर्नुभएको हो ।
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिनुभयो । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राख्नुभयो ।
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताउनु भयो । भेटमा राजदूतले नेपाललाई फ्रि र अन्एराएवल भिसाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ७:२४:५३