प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृति निस्तेज पार्छौः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृतिलाई निस्तेज पार्ने बताउनुभएको छ । गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरुलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’
नेपाली काँग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ ।’ उहाँले चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशा तिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरुका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय रुपमा पनि सरकारबाट लिइएका कुटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघको महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लाग्नुभएको बताउनुभयो । प्रधानमन्त्रीले यी भ्रमणहरु सरकारले लिएको कुटनीतिक सफलताको परिणाम भएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:१६:२१