‘बहुमतले प्रधानमन्त्री चुन्ने प्रक्रियाले राजनीतिक अस्थिरता र साेचेजस्ताे परिवर्तन भएन’

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले विद्ध्यमान राजनीतिक प्रणाली फेर्नुपर्नेमा जोड दिनुभएको छ । सुदुरपश्चिम प्रदेश स्तरीय राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा धनगढी आइपुग्नुभएका अध्यक्ष प्रचण्डले बहुमतले प्रधानमन्त्री चुन्ने प्रक्रियाले राजनीतिक अस्थिरता र सोचेजस्तो परिवर्तन संभव नभएको बताउनुभयो । “यो शासन प्रणालीले अस्थिरता निम्त्यायो। प्रत्यक्ष कार्यकारी नहुँदा बहुमतले प्रधानमन्त्री छान्ने प्रणालीका कारण भ्रष्टाचार बढेर गयो । हामीले सोचे अनुरुप यो प्रणाली अन्त्रगत विकाससम्भव छैन।”

“अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भयो,” उहाँले भन्नुभयो, “आम मानिसले चुनाव लडन नसक्ने अवस्था छ।”

माओवादीले संविधान निर्माणकै बेला यी मुद्दाहरुलाई नोट अफ डिसेन्टको रुपमा राखेको समेत उहाँले बताउनुभयो । शासकीय संरचनाका लागि माओवादीले मात्रै संघर्ष गर्न सक्ने र यो अधिकार माओवादीलाई मात्रै भएको उनको भनाई थियो ।

गठबन्धन दलहरुबीच सीटबाँडफाँडमा सहमति जुटन थालेको बताउँदै उहाँले अहिले प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने मुख्य दायित्व रहेकोमा जोड दिनुभयो। आगामी निर्वाचनमा देशका कतिपय क्षेत्रबाट उम्मेद्वार बन्न आग्रह गरिए पनि आफू चितवनको क्षेत्र नं ३ बाट नै उम्मेदवार बन्ने उहाँले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १६:१२:१९