बाम गठबन्धनले कांग्रेसलाई एकतावद्द हुन सहयोग पुगेको छ, ‘प्रचण्ड’

कार्तिक १०, पोखरा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बामपन्थी गठबन्धनले कांग्रेसलाई एकतावद्द हुन सहयोग पुगेको बताउनु भएको छ ।
कास्कीको लेखनाथमा लेखनाथ साना शहरी खानेपानीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी वैचारिक आस्था र आफ्नो राजनीतिक मान्यताभित्र रहेर बामपन्थीहरुको तालमेल र एकताको प्रयास गरेका छौं । यसले देशको राजनीतिक स्थिरता र समृद्धिमा सहयोग नै पुगेको छ । हाम्रो तालमेलपछि नेपाली कांग्रेसका नेताहरु पनि सक्रिय हुनुभएको छ । बामपन्थीहरुको तालमेलले कांग्रेसलाई एकतावद्द हुन सहयोग नै पुगेको छ । अब देशमा धेरै दलको अस्तित्व रहँदैन । विचार मिल्ने शक्तिहरुको राजनीतिक ध्रुवीकरण र एकताको प्रकिया तिब्र बनेर जान्छ ।’
बाम गठबन्धन लोकतान्त्रिक प्रकियाबाटै अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी र एमालेको तालमेलपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ । कतिपय साथीहरुले लोकतन्त्र नै धरापमा पर्याे, अधिनायकवाद जन्मन्छ, साम्यवाद आई नै सक्यो जस्ता प्रचार गर्न थाल्नुभएको छ । त्यो कुरा बिल्कुलै सत्य होइन । हामीले मिलेरै संविधान बनाएका छौं । जसले जिते पनि संविधानको कार्यान्वयन गर्ने हो, संविधानको दायरा भित्र रहेर राजनीतिक प्रतिस्पर्धा गर्ने हो ।’
‘गीरिजा बाबूलाई कांग्रेसले हार्दैछ भन्ने थाहा थियो । तैपनि उहाँले संविधान सभाको चुनाव गराउनु भयो, देशले जित्यो । स्थानीय तहको निर्वाचन गर्ने बेला म प्रधानमन्त्री थिएँ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी पहिलो हुँदैन भन्ने मलाई राम्रोसँग थाहा थियो । माओवादी जित्ला वा नजित्ला भन्ने मलाई बिल्कुलै सरोकार थिएन । देशले जित्नुपर्छ भन्ने सोच राखें, चुनाव भयो । चुनावमा माओवादी त तेस्रो भयो । तर, देश पहिलो भयो । अहिले हामी निर्वाचनको सङ्घारमा छौं । मेरो पार्टीले जित्छ कि हार्छ भन्ने चिन्ता नगरौं, चुनाव गरौं र देशलाई जिताऔं ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले पानी नै अहिलेको विश्वमा बहुमूल्य सम्पत्ति भएकोमा जोड दिँदै लेखनाथको खानेपानी आयोजनाको विकास र बिस्तारमा आफ्नो सधैं साथ रहने बताउनु भयो । कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पूर्वमन्त्री खगराज अधिकारी लगायतले बोल्नुभएको थियो ।
शुक्रबार नै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै समाजवादी क्रान्तिको तयारीका लागि एउटै कम्युनिष्ट केन्द्र आवश्यक रहेकोमा जोड दिँदै बामपन्थी गठबन्धन बलियो बनाएर पार्टी एकताको आधार सुदृढ गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कात्तिक ७, २०८१ बुधबार ११:९:४३