बिदा पुनरावलोकन गरिदिन अध्यक्ष प्रचण्डसँग आदिवासी जनजातिको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् । अध्यक्ष निवास खुमलटारमा बिहिवार बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताउनु भयो । उहाँले त्यसैपनि धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउनुहुँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताउनुभयो ।

‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईहरुलाई मेरो सहयोग हुन्छ,’ उहाँले भन्नुभयो । अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताउनुभयो । उहाँले आदिवासी जनजातिका मुद्धा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाउनुभयो ।

उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौति गरेको बताए । त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासा आदिवासी जनजातिहरुको थियो ।

कात्तिक ८, २०८१ बिहीबार २२:१९:३४