बिपीको समाजवाद भुलेर कांग्रेसको प्रगति हुँदैन, ‘प्रचण्ड’

मंसीर १, भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपीको समाजवाद भुलेर कांग्रेसको प्रगति नहुने बताउनु भएको छ ।
चितवनको गीतानगरमा आयोजित संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बिपीको समाजवाद र गीरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियाप्रतिको निष्ठालाई अपमान गरेर कांग्रेसको प्रगति हुन नसक्ने बताउनु भएको हो । राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेकोप्रति संकेत गदै उहाँले गणतन्त्रको बिरोधहरुसँग कांग्रेसले गठबन्धन गरेर बिपीको समाजवाद भुलेको बताउनु भयो । समाजवादको मुल सिद्धान्तबाट पार्टी विचलित हुँदै गइरहेको प्रचण्डको भनाई थियो । प्रचण्डले भन्नुभयो, ‘म तपाईहरुलाई सुझाव दिन चाहन्छु । बिपीको समाजवादतिर जानुस् । गीरिजा बाबूको शान्ति सम्झौतातिरै जानुस् ।’
चितवनको राप्रपा प्रजातान्त्रिक माओवादीमा बिलय भइसकेकाले समयमै सोच विचार गरी मतदान गर्न उहाँले आग्रह गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘तर कतिपय नेपाली काग्रेसका साथीहरुले बिपीले सेन्टिमेन्टमा आएर समाजवाद भन्यो भन्न थाल्नुभएको छ । यसले कांग्रेसलाई राम्रो गर्दैन । पाटीको सिद्धान्त मिल्नेहरुसँग पाटी एकता गर्नुहोस्, देशलाई एकताको खाँचो छ, कांग्रेस पनि शक्तिशाली होस् । अनि, शक्तिशाली कम्युनिष्ट र कांग्रेसबीच स्वस्थ प्रतिस्पर्धा गरौं ।’

कात्तिक ७, २०८१ बुधबार ९:६:३९