विभिन्न पार्टीबाट हजारौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

मंसीर १, काठमाडौं । विभिन्न पार्टी परित्याग गरी शुक्रबार बेलुका हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
राप्रपाका केन्द्रीय सदस्य मदन थापाको नेतृत्वमा ५५ जना, देवकी खरेलको नेतृत्वमा १३३ जना, प्रकाश विकल्पको नेतृत्वमा नयाँ शक्तिका ५३८ जना, विष्णु भण्डारीको नेतृत्वमा नयाँ शक्तिकै २१ जना, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धश्री लामाको नेतृत्वमा १८ जना, जनसमाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष हरिबहादुर बोहराको नेतृत्वमा ८३ जना, चन्द्रगिरी नगरपालिकाबाट लक्ष्मीकान्त पाण्डेको नेतृत्वमा ३४ जना, राप्रपाका बैकल्पिक केन्द्रीय सदस्य वाङ्दु शेर्पाको नेतृत्वमा १२ जना, तराई मधेश एकता पार्टीका केन्द्रीय सदस्य पासाङ छिरी शेर्पाको नेतृत्वमा १६ जना, बैद्य माओवादीका बिनोद बरामको नेतृत्वमा ३६ जना, नेपाली कांग्रेसका प्रदेश सदस्य छिरिङ दोर्जे शेर्पाको नेतृत्वमा २९ जना लगायतका पार्टी र स्वतन्त्र समूहबाट हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरताको युग समाप्त गरेर विकास र समृद्धिको जग बसाल्न बामपन्थीहरुको बलियो केन्द्र बन्न लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा जहिले पनि राजनीतिक अस्थिरता, जहिले पनि अल्पमतको सरकार, जहिले पनि सरकार बनाउने–भत्काउने खेल चलिरह्यो । यसले देशको विकास र समृद्धिको हाम्रो सपना पुरा हुन सक्दैन । बामपन्थीहरुको एकता र तालमेल बहुमतको सरकारका लागि मात्र होइन, नेपालबाट अस्थिर, अविकास र राजनीतिक झमेला सदाका लागि अन्त्य गर्न हो ।’

कात्तिक ७, २०८१ बुधबार ११:१८:५