बेल्ट एण्ड रोडबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दा विकासशील देशका लागि लाभदायक हुने बताउनुभएकाे छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा आयोजित बिआरआई सम्वाद कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे – म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भिर रुपमा उठाएको थिए। बिमिस्टेक सम्मेलनका बेला चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग पनि यो विषय गम्भिर रुपमा उठाएको थिएँ।

बिआरआई कार्यक्रमबारे बोल्दै उहाँले – यो कार्यक्रम निकै महत्वपूर्ण छ। भर्खरै चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्री नेपाल भ्रमण आएर फर्किसकेका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा यो गोष्ठी हुँदैछ।

अध्यक्ष प्रचण्डले गर्नुभएकाे सम्बाेधनकाे अंश:-

‘केही वर्षयता हामीकहाँ बौद्धिक बहसको खडेरी पर्दै गएको छ। सेन्टिमेन्टको राजनीतिले हामीलाई बिचलनमा लैजान्छ। केही वर्षयता वैचारिक वा विषय केन्द्रित बहस हुन छोडेका छन्। आवेगले समाज चल्दैन, चल्नु पनि हुँदैन। विवेकले चल्नुपर्छ। परिस्थितिवश आवेग पनि आउला। तर, त्यो विवेकको अधिनस्थ हुनुपर्छ।

हामी असंलग्न र स्वतन्त्र विदेश नीतिको पक्षमा छौं। हामी देशको राष्ट्रिय स्वतन्त्रता सुदृढ गर्ने, भौगोलिक अक्षुणता राख्ने हाम्रो नीति हो। यो हाम्रो घोषित नीति हो, हाम्रो आवश्यकता पनि हो। यसमा हामी दृढ रहन्छौं।

मानव समाज स्थिर रहँदैन। विकास भइरहन्छ। मानव जातिले बहुआयमिक विकास गर्दै आएको छ। विज्ञान प्रविधिको विकासले विश्वलाई सानो इकाइमा ल्याइदिएको छ। त्यसले विश्वमा ठूलो तरङ्ग पनि दिने गरेको छ।

बेल्ट एण्ड रोड इनिसिएटिभ प्रोजेक्ट निकै ठूलो प्रोजेक्ट हो। यसले शैन्य अभ्यासको परिकल्पना गर्दैन, शक्ति केन्द्रको परिकल्पना पनि गर्दैन। यो सामूहिक विकासको प्रयास हो। यसमाथि पनि बहस छन्। तर, नेपालले यसबाट धेरैभन्दा धेरै लाभ लिन सम्भव छ।’

कात्तिक ८, २०८१ शुक्रबार ४:१४:२७