बोगटीको असामयिक निधनले नेपाली राजनीतिमा ठूलो क्षति: अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोष्टबहादुर बोगटीको असामयिक निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताउनुभएको छ । नुवाकोटमा बोगटीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘बोगटीको निधनबाट सबैभन्दा दुःख भोग्ने दुःखी पात्र म बनेको छु ।’ उहाँले नेताहरुबीच विवाद हुँदा टेबल ठट्याएर कुरा राख्ने गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौं। तर जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो ।’
डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणप्रति लक्षित गर्दै प्रचण्डले बोगटीले विद्वानहरूको समेत पसिना निकाल्ने गरेको प्रसङ्ग सुनाए । ‘डाक्टर र वैद्यले बेलाबेला हेडक्वार्टरलाई सताउने गर्थे । त्यतिबेला पोष्टबहादुर बोगटीले डाक्टर होस् या वैद्य सबैको पसिना निकाल्थे ।’

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा माओवादी सधैँ सङ्कटमोचकको भूमिकामा देखिएको बताउनुभयो । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमसीसी विवादमा माओवादीले सङ्कट मोचकको भूमिका खेलेको उहाँको भनाई थियो । ‘व्याख्यात्मक घोषणामार्फत देशलाई फेरि अर्को दुर्घटनाबाट जोगाएका छौँ । आगामी दिनको चुनावमा जनताले पक्कै पनि यसको मूल्याङ्कन गर्नेछन्,’ प्रचण्डले भन्नुभयो।

अध्यक्ष एमसीसी घोषणापछि पार्टीभित्र के होला भन्ने चिन्ता देखिए पनि फेरि एक पटक पार्टीलाई एकताबद्ध राखेर चुनावमा एकताबद्ध रूपमा अघि जाने र जीत हासिल गर्ने गरी अघि बढेको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ७:१०:५५