भरतपुरमा विद्युत तार भूमिगत गर्ने कार्य सुरु, अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

चितवन । भरतपुरमा पहिलो चरणको विद्युत तार भूमिगत गर्ने कार्यको थालनी भएको छ । उक्त कार्यकाे शुभारम्भ एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गर्नुभयाे । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार भूमिगत गर्ने कार्यको औपचारिक रुपमा थालनी गरेको हो । bhumigat-electricity-Prachanda-Bharatpur-079-05-18-3

विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूमिगत वितरण प्रणालीले विकासमा अर्को चरण सुरुवात गरेको उल्लेख गर्नुभयाे । उहाँले यो प्रणालीबाट जनताले सुरक्षित र गुणस्तरीयसहितको सहज सेवाका लागि वातावरण बन्ने बताउनुभयाे । उहाँले भरतपुरमा मात्र नभइ चितवन जिल्लालाई नै भूमिगत प्रणाली लैजानुपर्ने धारणा राख्नुभयाे । भरतपुरले देशभर विकासको मोडल पेश गर्नुपर्ने अवस्था आइपुगेको उहाँले उल्लेख गर्नुभयाे ।

वितरण प्रणालीलाई भूमिगत तथा सृदृढीकरण र अटोमेशन गर्ने उद्देश्यले तारहरुलाई भूमिगत गर्न लागिएको आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्र कुमार झाले जानकारी दिनुभयाे । नेपाल सरकारले काठमाण्डौँ पोखरा र भरतपुरका मुख्य सहरका विद्युतीय तारलाई भूमिगत गर्ने गरी एकैपटक बजेट विनियोजन गरेको थियो । काठमाण्डौँ र पोखरामा यस कामअघि सुरु भैसकेको छ ।

भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजना प्रमुख झाका अनुसार, पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । यही फाउण्डेशनमा इन्टरनेट र केवल टेलभिजनका तार पनि भूमिगत हुनेछन् । विद्युतिय तार भूमिगत गर्न सडक निर्माणसँग सम्बन्धित रहेकाले सडकसँगको समन्वयमा काम गर्ने उनले बताए । पहिलो चरणको सुरुवात भरतपुर ओरालोस्थित भरतपुर महानगरको कार्यालय अगाडिबाट गरिएको छ ।

भरतपुर वितरण केन्द्र अन्तरगत पर्ने मुख्य सहरी सडकहरुको एच.टी.एट.टी लाईनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमहरु सुदृढीकण र एल.टी लाईनहरु बिछ्याउने आयोजना रहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा दुई वर्षभित्र सक्ने गरी भारतको बहुराष्ट्रिय कम्पनी टाटाले ठेक्का पाएको छ । यस आयोजनाको बजेट दुई अर्व ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँ रहेको छ ।

कात्तिक ८, २०८१ बिहीबार ६:१३:८