भ्रामक समाचारको प्रधानमन्त्री कार्यालयद्वारा खण्डन

फाल्गुण ७, काठमाडौं । चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा निकासी खुल्ला गर्न लागेको र त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायमा दवाव दिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचारलाई प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ ।
शुक्रबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले एक विज्ञप्ति प्रकाशित गरी उक्त समाचारको खण्डन गर्नुभएको हो । रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि चुरे क्षेत्रबाट ढुङ्गा, गिटी र बालुवा लगायतका सामग्रीहरुको निकासी खुला गर्न लागेको र उक्त विषयमा सम्बन्धित निकायलाई सम्माननीय प्रधानमन्त्रीज्यूले दवाव दिनुभएको भन्ने आशयका केही सञ्चार माध्यमहरुमा आइरहेका समाचारहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट कहीँ कसैलाई दवाव वा निर्देशन दिनुभएको भन्ने कुरा सत्य नभएकाले त्यसबाट भ्रममा नपर्नु हुन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’
भूकम्पपछि देशभित्र ढुङ्गा, गिटी, बालुवाको निकासी नहुँदा पूननिर्माणको काम रोकिएकाले सरकारले ढुंगा, गिटी, बालुवा खुल्ला गरेर पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केही सञ्चार माध्यमले बङ्गाएर देशबाहिर ढुंगा, गिटी, बालुवा निकासी गर्न लागिएको गलत समाचार प्रकाशित गरेका थिए ।

कात्तिक ६, २०८१ बुधबार ५:५:३