मधेसी जनताका अधिकार प्राप्तिका लागि लड्नेछु : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताले पाउनुपर्ने अधिकार नपाएको उललेख गर्दै त्यसका लागि आफू लड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीको रूपमा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव दर्ता गरेँ तर पास भएन । म लडिरहन्छु जबसम्म प्रस्ताव पास हुँदैन ।’

अध्यक्ष प्रचण्डले बुधवार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मधेसी जनसमुदायलाई सबैभन्दा बढी ठग्ने मधेसीकै सामन्त, दलाल, जमिन्दार, यहाँका ठग रहेको उल्लेख गर्नुभयो । अध्यक्षले मधेसी जनसमुदायलाई यहाँका सामन्त, दलाल, जमिन्दारले ठगेको र पहाडमा त्यहीँका जमिन्दार, ठग, दलालले ठगेको बताउनुभयो । उहाँले मधेस र पहाडका सबै गरीब, श्रमजीवी जनता एक भएर लडे दुनियाँको कुनै तागतले हराउन नसक्ने बताउनुभयो ।

उहाँले सो अवसरमा आफूलाई मधेसी जनसमुदायले साथ दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले आफूले जनतासँग गरेको वाचा पूरा गरेको दाबी गर्नुभयो । अध्यक्षले अगाडि भन्नुभयोे, ‘मैले निर्वाचनको समय भनेको थिए, यो हुलाकी राजमार्गलाई निर्माण गर्न नेपालको मात्र होइन भारतको सरकारसँग पनि कुरा गर्नेछु र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मादीसँग तीन पटक कुरा गरेको थिएँ। दोस्रो पटक प्रधानमन्त्री भएर भारतबाट फर्केपछि मैले सिरहामा हुलाकी राजमार्गको शिलान्यास गरेको थिएँ, अहिले बनेछ।’

अध्यक्ष प्रचण्डले उपचुनावमा पिपरा आउँदा सडक धुलाम्य देखेपछि त्यस सडकलाई बनाउन पूरै तागत लगाउने भनेको र आज सडक तयार भएको बताउनुभयो । उहाँले चुरे विनाशको सम्बन्धमा जानकारी दिँदै देशमा राजनीति बिग्रे सबै बिग्रन्छ, देशमा धेरै कुरा बिग्रेको थियो अहिले आएर विस्तारै सबै ठीक भएको बताउनुभयो । चुरे दोहन गर्ने, गिट्टी बालुवा विदेश बेच्ने नीति खलनायक केपी ओली भएकाले आफूहरुले उनलाई रोकेको अध्यक्ष भनाई थियो । उहाँले भन्नुभयो, ‘अब छिट्टै चुरे संरक्षणका लागि विस्तृत योजना ल्याउने छौं ।’

कात्तिक ७, २०८१ बुधबार ७:८:२