महत्वपूर्ण निर्णय गर्दै मन्त्रीपरिषद्को पहिलो बैठक सम्पन्न

श्रावण, २० काठमाडौं । नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गर्दै राष्ट्रिय कार्यभारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीद्वारा संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, जनताको आर्थिक समृद्धि र सुशासनको आकांक्षा, भूकम्पको पूनर्निर्माणमा तिब्रता लगायतका कामलाई नयाँ सरकारले पूर्ण कार्यान्वयन गर्ने बताउनुभयो ।
पदभार ग्रहण गरेपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले जनयुद्ध, जनआन्दोलन, तराई मधेश लगायतका सबै आन्दोलनका सहिदहरु, गत वर्षको भूकम्प र हाल सालैको बाढी पहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै बाढी पहिरोका कारण घाइते भएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । बैठकले वर्तमान सरकार गठनका लागि सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, सभासद् एवं सम्पूर्ण शुभेच्छुकहरुमा कृतज्ञता ज्ञापन गरेको छ । त्यसै गरी बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई रु. एक लाख दिने, सहिद तथा बेपत्ताका परिवारलाई पाँच लाख दिने पूर्ववर्ती सरकारको निर्णयलाई यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले नेपाल सरकारका प्रवक्ताको जिम्मेवारी हालका लागि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुरलाई दिने निर्णय गरेको छ ।
सम्माननीय प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेपछि चार बुंदे निर्देशन जारी गर्नुभएको छ । प्रधानमन्त्रीले गरीब घर परिवारको पहिचान गरी आय आर्जन, शिक्षा, स्वास्थ्य, बीमा, तालिम, प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकीकरण र खाद्यसुरक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु समावेश गरी ‘गरीबका लागि सरकार’ कार्यक्रम सञ्चालन गर्ने, भूकम्प प्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराई राहत र पूनर्निर्माणलाई तिब्रता दिने, चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरु ३ महिनाभित्र एकीकृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, तोकिएको म्यादभित्र जन्म दर्ता गर्न आउने देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ताका लागि प्रोत्साहन स्वरुप रु. १००० प्रदान गर्ने लगायतका निर्देशन जारी गर्नुभएको हो ।

कात्तिक ७, २०८१ बुधबार ९:३:१३