महाधिवेशन स्थगित गर्ने माओवादी केन्द्रको निर्णय

भदौं ३, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले पौष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारका कामलाई प्रभावकारी बनाउनु हाम्रो अहिलेको प्राथमिकता हो । सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने वस्तुगत परिस्थितिका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ ।’ प्रवक्ता भुसालका अनुसार महाधिवेशन स्थगितसँगै भदौं ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ । ‘भदौं ११ गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित गरिएको छ । त्यसको बिकल्पमा सात वटै प्रदेशमा केन्द्रीय कार्यालयको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागितामा प्रदेशस्तरीय बैठक सम्पन्न गरिनेछ’, प्रवक्ता भुसालले भन्नुभयो ।
प्रवक्ता भुसालका अनुसार पार्टी अध्यक्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएको र महाधिवेशनमा केन्द्रित हुँदा सरकारका काम प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर महाधिवेशन स्थगित गरिएको हो ।

कात्तिक ७, २०८१ बुधबार ९:९:१८