माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न जरुरी भएकाे छः अध्यक्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न जरुरी भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्षले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताउनुभयो । उहाँले त्यसका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह पनि गर्नुभयो ।

नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।” माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उहाँले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाउनुभयो ।

“सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उहाँले भन्नुभयो, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउनुभएको उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

असोज ६, २०८१ आइतबार २०:१८:३७