माओवादी एकता सभामा प्रचण्डको उद्घोष, ‘शक्ति सञ्चय गर्दैछौं’

कार्तिक ५, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताउनु भएको छ ।
शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताउनु भएको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हिजो हामी बिभाजित भयौं । यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका युगान्तकारी एजेण्डाहरु पनि कमजोर बने । अहिले हामी विगतको समीक्षासहित एकतावद्ध हुँदैछौं । अहिले हामी एकता र ध्रुवीकरणमार्फत् शक्ति सञ्चय गरिरहेका छौं ।’
सभामा प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनहरु दिगो नहुँदै राजनीतिक पार्टीहरुमा बिचलन आउने गरेको स्मरण गर्दै भन्नुभयो, ‘नेपालमा ठूलठूला बलिदान भए, राजनीतिक परिवर्तन भए । तर, तिनलाई संस्थागत गर्न नपाउँदै राजनीतिक पार्टीहरुमा विभाजन र स्खलनहरु देखिए । हामीले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्छ । माओवादी अहिले त्यही अभियानमा छ ।’
प्रचण्डले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा रहेको चर्चा गर्दै भन्नुभयो, ‘माओवादी आन्दोलनलाई पहिलो र देशकै निर्बिकल्प शक्तिको रुपमा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा छ । अर्कोतिर राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि मेरै काँधमा छ । विगतमा आन्तरिक राष्ट्रियतालाई उपेक्षा गर्ने प्रवृत्तिले देश नै बिखण्डन हुने त होइन ? भन्ने जोखिम निम्तियो, त्यसको समाधान दिनु पनि मेरै जिम्मेवारी हो । त्यसैले मलाई माओवादी आन्दोलन र सिङ्गो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’
प्रचण्डले पुरातनपन्थी, नश्लवादी र समावेशी लोकतन्त्रका विरोधीहरु माओवादी आन्दोलनविरुद्ध झुटो प्रचारमा लागेको भन्दै त्यसको प्रतिरक्षा गर्ने युवाहरुलाई धन्यवाद दिनुभयो । प्रचण्डले भन्नुभयो, ‘हामी राष्ट्रिय एकता चाहन्छौं । सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने चाहन्छौं । सन्तुलित विदेश नीतिका आधारमा देशलाई विकास र समृद्धिको दिशामा लैजान चाहन्छौं । तर, यसलाई मन नपराउने शक्तिहरु मिडिया र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिरहेका छन् । त्यसको प्रतिरक्षा युवा साथीहरुले स्वयम्सेवी रुपमा गरिरहनु भएको छ । म उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
घोषणा सभामा वैद्य माओवादी, राप्रपा, नेकपा (माले) लगायतका राजनीतिक दलहरुको तर्फबाट सयौंको संख्यामा नेताहरु एकतामा आउनुभएको छ । नेकपा (क्रान्तिकारी) बाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, नेकपा (माले) बाट रबिन्द्र थापाको नेतृत्वमा सयौं नेताहरु नेकपा (माओवादी केन्द्र) सँग एकतामा आउनु भएको हो । कार्यक्रममा नेताहरु तिलक परियार, कुलबहादुर केसी लगायतले बोल्नुभएको थियो ।
_DSC9868_DSC9898

कात्तिक ७, २०८१ बुधबार १३:३:३६