माओवादी हेडक्वार्टर बैठकमा चुनावको सामान्य समीक्षा

असार २७, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को हेडक्वार्टर बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको सामान्य समीक्षा गरेको छ ।
मंगलबार दिउँसो पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकले निर्वाचनको सामान्य समीक्षा गरेको हो । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबारे प्राप्त रिपोर्ट, सरकार सञ्चालन र संविधान संशोधन विधेयक लगायतका विषयमा भएको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
निर्वाचनको सामान्य समीक्षा गर्दै बैठकले दोस्रो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेको परिणाम हासिल गर्न नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । पार्टी एकताको भाव जनस्तरसम्म राम्रोसँग सम्प्रेषण गर्न नसकिएको, संगठनात्मक व्यवस्थापन गर्न नसकिएको, पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीय कामहरुलाई जनतासम्म प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसकिएको र अहिलेको निर्वाचन निम्न वर्गका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्न निकै चुनौतिपूर्ण भएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले जिल्ला ईन्चार्जहरु समेतको उपस्थितिमा बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकका एजेण्डा पनि तय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको बैठक श्रावण २ गतेदेखि बस्दैछ ।

कात्तिक ७, २०८१ बुधबार १९:१६:५१