माओवादीले मात्रै देशलाई एकताबद्ध गर्न सक्छ : प्रधानमन्त्री

चैत १०, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताउनुभएको छ ।
आज साझ काठमाडौंमा मोहन बैध नेतृत्वको माओवादी क्रान्तिकारी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितका उपलब्धीहरु माओवादी नेतृत्वमै प्राप्त भएकाले यसको रक्षा र थप उपलब्धी हासिल गर्न पनि माओवादीकै नेतृत्व अपरिहार्य रहेकोमा जोड दिनु भयो ।
प्रधानमन्त्रीले माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा आफू लागेको बताउँदै छरिएर रहेका सबै माओवादीलाई एकतावद्ध हुन आग्रह गर्नु भयो । उहाँले माओवादीहरु एकतावद्ध हुँदा जनतामा आशाको सञ्चार भइरहेको बताउँदै एकता अभियान जारी रहने बताउनु भयो ।
माओवादी केन्द्रमा समाहित हुनेहरुमा माओवादी क्रान्तिकारी भेरी कर्णाली इन्चार्ज धनजित शाही, कालिकोट सेक्रेटरी दुर्गाप्रसाद काफ्ले, मुगु सेक्रेटरी सुरबहादुर बुढासहित सयभन्दा बढी नेता, कार्यकर्ता हुनुहुन्छ ।

कात्तिक १०, २०८१ शनिबार ६:११:२१