माओवादीहरु एक ठाउँमा नआए प्राप्त उपलब्धी गुम्ने खतराः अध्यक्ष प्रचण्ड

काठमाडौं, २९ फागुन । अध्यक्ष प्रचण्डले माओवादीहरु एक ठाउँमा नआए प्राप्त भएका उपलब्धीहरु पनि गुम्ने बताउनु भएको छ । उहाँ भन्नुभयो, ‘माओवादी छिटोभन्दा छिटो एकजुट नभए प्राप्त उपलब्धी गुम्ने छन् र नयाँ उपलब्धी पनि हासिल हुँदैन ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशील शिक्षक संगठनद्वारा आज राजधानीमा आयोजित संघीय संरचनामा विद्यालयीय शिक्षा व्यवस्थापन विषयक एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रको र जनताको हितमा गम्भीर रुपमा आत्म समिक्षा गर्ने, आफ्ना विगतमा कमिकमजोरी समिक्षा गर्ने, सबै माओवादी एकठाउँमा आउने र देशलाई नयाँ ढंगले अगाडि बढाउने बेला भएको बताउनु भयो । उहाँले क्रान्ति अधुरो छ, अपुरो छ आफूहरु संझौतामा भएको पनि प्रष्ट्याउनु भयो ।

अध्यक्षले राज्य सत्ता अहिलेपनि जनताको हातमा आई नसकेको बताउनु भयो । राज्यसत्तामाथि जनताको हस्तक्षेप निरन्तर बढ्दै भने गएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘अहिले राज्य सत्तामाथि जनताको प्रभुत्व छ भन्ठानियो भने त्यो निकै ठूलो भ्रम हुन्छ । अहिले पनि राज्य सत्तामा दलाल पूँजीपतिहरुको या नोकरशाहहरुको या कमजोर सामन्तहरुकै बर्चश्व छ । राज्य सत्ता प्रतिक्रियावादीकै हातमा केन्द्रित छ । जसमा जनताको हस्तक्षेप पनि हुँदै गएको छ ।’

राज्य सत्ता पुरानै रुपमा जस्ताको त्यस्तै छ भनियो भने पनि त्यो यथार्थ नहुने उहाँको भनाई थियो । जनयुद्ध र जनआन्दोलनको परिणाम र अन्य आन्दोलनहरुको परिणाम राज्य सत्तामाथि निरन्तर हस्तक्षेप भईरहेको छ, उहाँले भन्नुभयो, ‘राज्यसत्ता आफूलाई सुधार गर्न बाध्य पनि भईरहेको छ ।’

शिक्षक संगठनहरुको आयोजनामा
अध्यक्षले कार्यक्रममा सहभागी शिक्षकहरुमाझ भन्नुभयो, ‘संविधानको कुरा गर्दा क्रान्ति अगाडि बढ्दै जाँदा र जनताको आन्दोलन अगाडि बढ्दै जाँदा संविधानमा थुप्रै राम्रा कुरा संविधानमा लेखाउन सकिँदो रहेछ । तर जनताको आन्दोलन कमजोर भयो भने ति लेखिएको कुराको केही अर्थ हुँदैन । ति लेखिन्छन् ति मेटिन्छन् । अन्ततः संविधान के लागु हुन्छ भन्ने कुरा राज्य सत्तामा कुन वर्ग कुन मनोबिज्ञान कुन बिचार कुन विचार कुन प्रवृति कुन संस्कार हाबी छ भन्ने कुराले निधो गर्छ । त्याहाँ एकछिनको लागि झुक्काउन पनि लेखिएको हुनसक्छ । हामी कमजोर भयौ भने संविधानमा लेखिएका कुरा उल्टिँदै जान्छन् र देश नराम्रोसँग प्रतिगमनमा वा प्रतिक्रान्तिमा जाने खतरा पनि छ ।’

एक अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वाधिनताको विषय नेपाल र नेपाली जनताका अगाडि आयो ।  हामी त्यसलाई प्राप्त गर्न कठोर संघर्षमा पनि छौं । हामीले आफूलाई कुन कित्तामा उभ्याउने हो राष्ट्रिय स्वाधिनताको कित्तामा कि आत्मसमर्पणको कित्तामा । अहिलेको राजनीतिक नेतृत्वमा दुईवटा प्रवृति छन् । राष्ट्रियता उचो राख्ने वा गिराउने भन्ने प्रश्न प्रवल छ । अहिले आम जनतामा राष्ट्रियत स्वाधिनताको स्वाभिमानको र आत्मसम्मानको भावना आम जनतामा प्रवल छ भन्ने देखिएको छ । हामीले यसमा हाम्रो भूराजनीतिक अवस्थितिका कारणले भारत र चीन जस्ता ठूला छिमेकीहरुसँग हामीले उचित सन्तुलन नमिलाईकन र उनीहरुलाई उचित सन्तुलन नमिलाईकन र उनीहरुलाई उचित समझदारी बनाउने पक्षलाई पुरै इन्कार गरेर जाँदा पनि त्यसले राष्ट्र र जनताको धेरै हित गर्दैन भन्ने पक्षलाई पनि हामीले गम्भीररुपले गम्भीर रुपले बिचार गर्नुपर्ने अवस्था पनि छ ।’

कात्तिक ८, २०८१ बिहीबार २०:३:२८