‘मुलुककाे समृद्धिका लागि भूमिसँग सम्बन्धि समस्या समाधान गरी उत्पादन बृद्धि गर्नुपर्छ’

पाेखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिका लागि भूमिसँग सम्बन्धि समस्या समाधान गरी उत्पादन बृद्धि गर्नुपर्ने बताउनुभएको छ । भूमिहीन नागरिकका समस्या समाधान गर्न नसकेमा २ तिहाई जनमत सहितको कम्युनिष्ट सरकारको औचित्य नहुने प्रचण्डको भनाई रहेको थियो ।

पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा सरकारमा रहँदा भूमिसँग सम्बन्धित समस्या समाधान गर्न नसक्ने हो भने जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी नराख्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

निर्वाचनको घोषणापत्रमा गरिएको प्रतिबद्धता अनुरुप नै ४ बर्षभित्र भूमिको समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भूमिको समस्या, औधोगिकीकरण, उत्पादन र रोजगारी लगायतका समस्या हल गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले राजनीतिक रुपमा मात्र नभई संसदमा रहेको विचाराधीन विधेयकमा कानुनी हिसावले पनि भूमि समस्या सम्बोधन गनुे तर्फ लाग्नुपर्ने बताउनुभयो । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले मात्र समृद्धिको आजको आवश्यकता पुरा नसक्ने भन्दै प्रचण्डले उत्पादन बृद्धिका लागि प्रविधि र जमिनको चक्लाबन्दीलाई ध्यान दिनुपर्ने बताउनुभयो । भूमि सुधार र भूमि अधिकारको विषयमा कुरा गरिरहँदा युवा श्रम गर्ने शक्ति विदेशमा रहेका छन्, प्रचण्डले भन्नुभयो, ‘निम्न मध्यम र कृषक समुदायकै युवा युवा युवती विदेशिनु परेकाले जमिन बाँझे हुन पुगेको छ ।’

कात्तिक ९, २०८१ शुक्रबार १४:४:१९