मुस्लिम कवि सम्मेलनलाई प्रधानमन्त्रीद्धारा सम्बोधन

माघ २९, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका मुस्लिम कविहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । शनिबार दिउँसो रौतहटको जिंगहवामा आयोजित नेपाल—भारत मुशायरा (कवि सम्मेलन) लाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको यो सम्मेलन निकै दुरगामी महत्वको छ । यसलाई मैले दुरगामी महत्व र रणनीतिक कार्यक्रमका रुपमा लिएको छु । यो सम्मेलनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरणमा विशेष महत्व राख्नेछ । कविता र सिर्जनाका माध्यमद्धारा मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित गर्ने तपाईहरुको अभियानमा सफलता मिलोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
आफू पहिचान र अधिकारका निम्ति अनवरत संघर्षमा रहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘म सबै जाति, भाषा, कला, संस्कृति र समुदायको पहिचान र अधिकारको पक्षमा छु । हिमाल, पहाड र मधेशबीच राष्ट्रिय एकताको पक्षमा छु । मेरै नेतृत्वमा जनयुद्ध भयो, उत्पीडितहरुको अधिकारको संघर्ष भयो । अहिले नयाँ संविधानले उत्पीडितहरुको पहिचान र अधिकारलाई संस्थागत गरेको छ । बाँकी अधिकार संविधान संशोधनको माध्यमद्धारा प्राप्त गर्दै जाने बाटो खुलेको छ ।’
नयाँ संविधानमा मुस्लिम अधिकार संस्थागत भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानमा मुस्लिम आयोगको व्यवस्था छ, यो संवैधानिक आयोग हो । अब मुस्लिमहरुका अधिकार पनि संस्थागत हुँदै जानेछन् । सिर्जनाका माध्यमबाट आफ्नो समुदायको अधिकार र जागरणका निम्ति तपाईहरुले थाल्नुभएको अभियान प्रशंसनीय छ ।’
कार्यक्रममा नेपाल र भारतका ३६ जना मुस्लिम कविहरुले भाग लिनेछन् । एक दिने कवि सम्मेलनमा मुस्लिम समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिकता, पहिचान र अधिकारसँग सम्बन्धित कविताहरु प्रस्तुत हुनेछ ।

परिवर्तनको अनुभूति गर्ने काम गर्न निर्देशन
जिंगहवा । मुस्लिम सम्मेलनपछि रौतहट जिल्लाका कार्र्यालय प्रमूखहरुलाई प्रधानमन्त्रीले जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
निर्देशनमा प्रधानमन्त्रीले केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै जिल्लामा निर्वाचनको वातावरणका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । सरकार स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ । तपाईहरु पनि जिल्लामा निर्वाचनको वातावरण बनाउन आवश्यक प्रबन्ध गर्नुहोस् । निर्वाचनको वातावरण बनाउने र जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु तपाईहरुको दायित्व हो ।’
निर्देशनमा प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्ने गरी विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीले आ–आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरुको निरीक्षण र निर्देशन गर्न पनि कार्यालय प्रमूखहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले स्थानीय जनतालाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ९:१६:३६