मृगौला रोगीलाई राज्यले आजीवन सहयोगको व्यवस्था गर्नुपर्ने अध्यक्षको भनाई

काठमाडौं, २७ चैत । अध्यक्ष प्रचण्डले मृगौला रोगीहरुका लागि राज्यले आजीवन  सहयोगको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । आज बिहान लाजिम्पाटमा राष्ट्रिय मृगौला पीडित संघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘मेरो पुरै सहानुभूति तपाईहरुलाई छ । छिमेकी देशहरुमा मृगौला प्रत्यारोपण र डायलोसिस गर्ने प्रक्रिया पनि प्रगति हुने स्थिति छ । हामी कहाँ अझै ऐन कानून  प्रयाप्त छैन । मृगौला पीडितहरुलाई विभिन्न खालका झमेलाहरु, समस्याहरु र आर्थिक कारणले अकालमा ज्यान जाने घटनाहरु देखिरहेको छ । मेरो तर्फबाट सरकारलाई यो वर्षको बजेटमा नीति तथा कार्यक्रममा पनि मृगौला पीडितहरुको निम्ति विशेष व्यवस्था गर्न मेरो सुझाव हुन्छ । यो विश्वास म तपाईहरुलाई दिलाउँछु । राज्यले नीति बनाउने र सहयोग गर्ने कुरा एउटा भए पनि नेपाली समाजमा खानपिनको प्रक्रिया के भएको हो ? त्यसको पनि अध्ययन हुनुपर्ने भएको छ । हामीले खाने फलफूलहरु, तरकारीहरु, खाद्यान्नहरुमा के त्यस्तो तत्व छ, जसले गर्दा मृगौला पीडितहरुको संख्या दिनदिनै बड्दै गएको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ । अहिले अब खानपिनको पद्दति बदलियो विषदीहरुको प्रयोग हुन थाले र मृगौला रोगीहरुको संख्या पनि लाखौंको संख्यामा पुगिसकेको छ । यो महामारीको रुप लिन खोजीरहेको बेला यसबारे राजनीति नेतृत्वले, सरकारले र हामी आफैंले पनि बिचार गर्नुपर्ने बेला भएको छ । यही रफ्तारमा मृगौला रोगीहरु बढ्दै गए हामी सबै नेपालीहरु मृगौला रोगी हुने खतरा छ ।’

कात्तिक ७, २०८१ बुधबार ६:१७:२९