मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ काे अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

चितवन। पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ। विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गरिएको छ। आज (शनिबार) मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे। अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने बताए। सर्भे रिपोर्ट आएपछि नागरिक उड्ययन प्राधिकरणले छिट्टै टेण्डरको प्रक्रिया अघि बढाईने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

‘स्तरोन्नतीको प्रक्रिया सुरु भइसकेको छ। फिल्ड सर्भे रिपोर्ट आएपछि सबै प्रक्रिया पुरा गरेर टेण्डर निकाल्छौं, यो विमानस्थल अब पुनः चल्छ’–महानिर्देशक अधिकारीले भने। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यस विमानस्थल स्तरोन्नती गर्नका लागि महानगर लागि परेको जानकारी दिइन्। उनले यस विमानस्थल संचालनमा आएलगत्तै यस क्षेत्रको विकास हुने भन्दै यो प्रक्रियालाई छिट्टै अघि बढाउन आग्रह गरिन्।

परम्परागत ढङ्गबाट गरिने सर्भे भन्दा ‘टोपोग्राफी सर्भे’ १० दिन छिटो रिर्पोट आउँछ। यो सबै डिजिपीएस प्रविधि र ड्रोनबाट नक्साङकन गरेपछि काम गर्न सहज हुने र फिल्ड गईरहनुपर्ने समस्या नहुने सर्भेकर्ताहरु बताउँछन्। यही सर्भेको आधारमा फिल्डको सतह, ड्रेन निर्माण लगायत प्राविधिक विषयलाई सहज ढङगबाट मापन गर्न सकिने भएकाले बहुउपयोगी मानिएको छ।

अहिले धावनमार्ग घाँसेमैदान रहेको छ। सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विं.सं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसपश्चात एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराईएको थियो। भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ। हाल यस विमानस्थलको लम्बाइ एक हजार मिटर छ। यस विमानस्थल भने कुल २३ बिघा क्षेत्रमा फैलिएको छ।

कात्तिक ७, २०८१ बुधबार १०:९:४९