मैले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा छोडेको छैनः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा नछोडेको बताउनुभएको छ । राजधानीमा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मैले जति प्राप्त हुन्छ त्यति लिइहालौं र फेरि आन्दोलन अगाडि बढाईरहनु पर्ने हुन्छ । हामी संविधानलाई परिवर्तन गर्दै लैजाने र उत्पीडितहरुको हक अधिकार स्थापित गर्दै लैजाने भनेका हौं ।’

उहाँले थप अधिकार र हकहितका लागि अब अर्को लडाईँ लड्नुपर्ने स्थिति आएको बताउनुभयो । प्राप्त उपलव्धीहरु पनि अहिले खतरामा परेको भन्दै उहाँले उपलव्धी रक्षाका लागि अर्को लडाई लड्नुपर्ने स्थिति आएको बताउनुभयो ।

दलित, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिमले अधिकार प्राप्त गर्दा सबैभन्दा दुःखी हुने मान्छे प्रधानमन्त्री बनेको भन्दै प्रचण्डले ती सबै अधिकार खोस्ने दाउमा ओली रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । ओलीले संविधान नै धरापमा पार्ने स्थिति बनाएकाले रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

दलित, आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक जाति, समुदाय क्षेत्रको पहिचान स्थापित गर्न आफूले कहिल्यै कसर नराखेको भन्दै अध्यक्षले पहिचानको आन्दोलन नछाडेको बतउनुभयो ।
उहाँले संविधान मास्ने पात्रको रुपमा ओलीलाई अगाडि आएको पनि बताउनुभयो । अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।’

ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय सेटिङ्ग गरेर नेकपालाई दुई वटा बनाएको उहाँको भनाई थियो । ‘तर, उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय के के सेटिङ गर्नुभयो, लम्पसार पर्नुभयो, के के गर्नुभयो तपाईंहरु नै अध्ययन गर्नुहोला र अहिले दुईटा पार्टी भयो,’ उहाँले भन्नुभयो ।

‘केपी ओलीले संसद् विघटन गरेर हामीलाई सडकमा र्पुयाइदिनुभयो। सडकमा र्पुयाउने भनेको जनतामा जाऊ भनेको हो। हामीलाई दलित, जनजाति, मजदुर किसान र आम नेपाली जनताको बीचमा लगेर फालिदिनुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँले हामीलाई सिध्याउन खोज्नुभएको थियो । तर, हामी आफूमा लागेको धुलोमैलो पनि टक्टक्याउँदै फेरि जनताको मुद्दा लड्ने ठाउँमा पुर्याइदिनुभयो । पुस ५ गतेपछि त म आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छु । फेरि जनताको प्रतिनिधिको रुपमा लडाइँ लड्ने अवसर प्राप्त भएको छ ।’

कात्तिक ७, २०८१ बुधबार ६:१३:४६