‘संघीय लोकतान्त्रिक गणतन्त्रको मौलिक पक्ष समावेशी, संघीयता र धर्मनिरपेक्षता’ (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमा मौलिक पक्ष भनेकाे समावेशी, संघीयता र धर्मनिरपेक्षता रहेकाे बताउनुभएको छ । धुलिखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता असफल पार्न, संविधान बन्न नदिन, वाम गठबन्धन हुन नदिन र चुनाव गर्न नदिनका लागि कसरतमा लागेकाहरु अहिले सल्बलाएको बताउनुभयो ।

अध्यक्षले नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको बताउनुभयाे । उहाँले गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी व्यवस्था एकथरी मान्छेलाई पहिलादेखि नै मन नपरेको जनाउँदै तिनीहरुले नै अहिले संविधान, लोकतन्त्रमाथि प्रहार गर्न थालेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘त्यसकै परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको छ ।’

उहाँले प्रतिनिधिसभा विघटनपछि आफूहरुले त्यसका विरुद्ध संघर्ष गरेको र लाखौं जनता सडक संघर्षमा उत्रिएपछि सर्वोच्च अदालतले विघटनको घोषणालाई खारेज गरिदिएको बताउनुभयो । जनताले एउटा ‘ब्याटल’ जिते पनि ढुक्क हुने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले उक्त सफलता एउटा व्याटल भएपनि लगत्तैकाे सर्वोच्चकाे अर्को निर्णयले आफूहरुलाई सोच्न बाध्य पारेको भन्दै संघर्ष अझै जारी रहने धारणा व्यक्त गर्नभयो । उहाँले भन्नुभयो, ‘तर, अझैं खतराको कालो बादल मडारिरहेकोले सचेत रहनुपर्छ । हामीहरु अझैं पनि प्रतिगमनका विरुद्ध संघर्षमा रहेका छौं ।’

नेपालको राजनीतिक स्थायित्वको लागि शान्ति सम्झौता र संविधान संविधानसभाको घोषणा गर्दै बाम गठबन्धनको चुनाव हुँदै कम्युनिष्ट पार्टीहरूको एकतासम्म पुगेको तर त्यसलाई असफल तुल्याइएकाे प्रति अध्यक्षले दुःख व्यक्त गर्नुभयो । उहाँले नेपालमा कम्युनिष्ट एकता नचाहने दक्षिणपन्थीले केपी ओलीलाई प्रयोग गरेकोप्रति आक्रोश प्रकट गर्नुभयो ।

उहाँले संसद भङ्ग संसदमात्र भङ्ग भएको नभई संविधानलाई कागजको खोस्टो बनाएर च्यात्ने दुस्साहस पनि भएको बताउनुभयो । उहाँले संसद भङ्गलाई पहिलो चोटी संविधानमा सार्वभौम भएका नेपाली जनताको सार्वभौम अधिकारको अपहरणको संज्ञा पनि दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ८:१४:२६