मोरङका उद्योगी—व्यवसायीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

कार्तिक २६, मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङ जिल्लाका उद्योगी—व्यवसायीहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।
शुक्रबार मोरङ व्यापार संघको आयोजनामा आयोजित अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानको स्वीकार्यता बढाएर निर्वाचनमार्फत् राजनीतिक स्थिरता हासिल गरेपछि नेपाल विकासको गतिमा अगाडि जान्छ । निर्वाचन गरेर तलदेखि माथिसम्म राजनीतिक नेतृत्व स्थापित गरियो भने तिनले विकासलाई प्राथमिकता राख्नेछन् र देश विकासको गति अगाडि बढ्नेछ । अबको दुनियाँमा विकासलाई बाहिर राखेर राजनीति गर्न सकिँदैन, गर्नु पनि हुँदैन ।’
बिराटनगरको विकासबारे प्रधानमन्त्रीले भन्नुभयो, ‘बिराटनगर उद्योग र राजनीतिकै अग्रणी भूमि हो । दश वर्षअघि पनि बिराटनगरमा आएर उद्योग, व्यवसायबारे अन्तरक्रिया गरेको थिएँ । कोशीको बाँध फुटेपछि यो क्षेत्रको उद्योग व्यवसाय चौपट भएको थियो । मैले मेरो तर्फबाट सकेको प्रयास गरेको थिएँ । भर्खरै बिराटनगर जुट मिलको निरीक्षण गरेको छु । पूर्वी क्षेत्रको विकासलाई मैले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु ।’
प्रधानमन्त्रत्रीले भन्नुभयो, ‘केही दिनअघि किमाथान्का लोकमार्गको निरीक्षण गरेको छु । किमाथान्का नाका पूर्वी नेपालकै विकासमा रणनीतिक महत्व राख्ने राष्ट्रिय गौरवको आयोजना हो । यसलाई समयभित्रै सम्पन्न गर्न मैले आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गर्नेछु ।’ सो अववसरमा प्रधानमन्त्रीले गोवा भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग एन्टि डम्पिङ ट्याक्स नलगाउनेबारे कुरा गरेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पूर्वी क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
उद्योगी व्यवसायीहरुसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका मोरङ जिल्लाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा प्रधानमन्त्रीले राजनीतिक सहमति जुटाएर संविधान संशोधन गर्ने र निर्वाचनको मिति तथा कार्यक्रमको घोषणा गर्ने अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्रीले हिमाल, पहाड र तराईलाई मिलाएर सुदृढ राष्ट्रिय एकता हासिल गर्नेतिर आफूले मेहेनत गरेको बताउँदै भ्रमबाट मुक्त भएर पार्टी निर्माण र जनसेवामा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १७:१०:२१