युद्ध अहिले पनि भिन्न रुपमा जारी छ : अध्यक्ष प्रचण्ड

तनहुँ, १३ चैत । अध्यक्ष प्रचण्डले किसान मजदूर सबै उत्पीडित जनता एकातिर र वुर्जवा वर्ग अर्को तिर लडाई चलिरहेको उल्लेख गर्दै युद्ध अहिले पनि भिन्न रुपमा जारी रहेको बताउनु भएको छ । तनहुँको दमौली जिल्ला स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उहाँले भन्नुभयो, ‘सत्ताभित्र हुने ठूलठूला खेलमा सहि निर्णय लिन नसक्दा ठूल्ठूला युद्ध असफल भएका छन् । जनयुद्धको समग्र विकास प्रक्रियामा तनहुँ जिल्लाको विशेष भूमिका छ ।’ उहाँले अहिले मात्र बन्दुक नचलेको बताउनु भयो । उहाँले भन्नुभयो, अन्याय अत्याचारको प्रतिकार गर्नैपर्छ, यो युद्ध हामीले जित्नै पर्छ, राजनीति शान्तिपूर्ण युद्ध हो र युद्ध रक्तपातपूर्ण राजनीति पनि हो ।’

युद्धको तयारी, १० वर्षको युद्ध र १० वर्षको शान्ति कालको नेतृत्व एउटै व्यक्तिले गरेको उहाँको भनाई थियो । एक अर्काे प्रसंगमा उहाँले १० वर्ष अगाडि मधेसमा अधिकार चाहियो भन्ने एक जना मानिस नभएको र मधेसको अधिकार र अधिकारको निम्ति संघर्ष गर्ने चेतना हाम्रै नेतृत्वमा संचालन भएको संघर्षले दिएको बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो, ‘संविधान सभाबाट संविधानको घोषणा हाम्रो पार्टी र उत्पीडित जनताको जित हो । यो संविधान मन नपर्नेहरुले मलाई नै तारो बनाएका छन् । संविधान सभाबाट संविधान जारी भएपछि नेपालमा विचित्रको नाटक देखा पर्यो । संविधान निर्माणको अन्तिम चरणसम्म सक्रिय रहेको व्यक्ति बाबुरामजी आफैंले बनाएको संविधान अस्वीकार गर्दै पार्टी, विचार, जनता सहिद, जनयुद्ध सबैलाई छाड्नुभयो र विजातीय तत्वसँग सम्बन्ध गाँस्न पुग्नुभयो । यस्तो कदम चाल्न हामी कसैलाई छुट छैन ।’

माओवादी पार्टीहरु बीचको एकताको प्रसंग कोट्याउँदै उहाँले माओवादी धाराहरुसँग एकताको प्रयास भईरहेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, सबै माओवादीहरुसँग एकैचोटी एकताको नयाँ प्रक्रिया सुरु गरिँदैछ । उहाँले कार्यकर्ताहरुलाई पनि एकताको निम्ति आआफ्नो ठाउँमा झण्डा उठाउन निर्देशन दिनुभयो । अध्यक्ष आज नै तनहुँबाट काठमाण्डौं जानुहुने भएको छ ।

कात्तिक ७, २०८१ बुधबार ७:१२:३२