‘युद्धमा सहभागीहरुलाई जति शान्तिको महत्व अरुलाई हुन्न’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले युद्धमा सहभागिहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने बताउनुभएकाे छ । माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले मानव जीवनको महत्व युद्धबाट परिभाषित रहेको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘जनयुद्धमा लाग्दा लाग्दै पनि कुनैपनि बेला मृत्युबरण गर्नुपर्ने हुन सक्दथ्यो । मृत्यु वा मुक्ति भनेर लागिएको हो । सबै खालका अप्ठ्यारा भोग्ने मानसिक तयारीका साथ हामी जनयुद्धमा लागेको हो । जीवनप्रतिको बुझाई ती कठिन दिनमा जति थियो, अहिले छैन । जीवनको अनान्दाभूति वा जीवनबोध, गर्वबोध गर्न सकिएको छैन । जनयुद्धका ति दिनहरु सम्पूर्ण त्याग र समर्पणसहित कुनै व्यक्तिगत स्वार्थ थिएन । सिंगो मानव जातिको लागि काम गरेको अनुभूति हुने गरेको थियो ।’

अध्यक्ष प्रचण्डले जनयुद्धमा जस्तो जीवानुभूति अहिले हुन छोडेको टिप्पणी गर्नुभयाे। उहाँले अहिले लाखौं मानिसहरुको बीचमा भएपनि जनयुद्ध लडेकाहरुलाई त्यो बेलाको जस्तो जीवनको बोध हुन नसकेको बताउनुभयाे ।

पुस्तक विमोचनमा प्रस्तुत गरिएको नाटकका दृष्यमा भावुक बनेका प्रचण्डले भन्नुभयाे, ‘अहिले हामी लाखौं करोडौं मानिसका बीचमा छौं तर पनि एक्लो महसुस हुने गरेको छ । जीवनको बोध हुन छोडेको छ । हामी स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको छ । तर पनि समाजवादको यात्रा भने अहिले पनि छोडेका छैनौं । त्यसले अघि बढ्नको उत्प्रेरणा दिइरहेको छ । ’ उहाँले अहिले आन्दोलनको यात्रामा घुम्ति र मोडहरुमा रहेको बताए । उनले अहिपनि दुःख मिहनेत गर्न समाजवादको महान यात्राको लक्ष्यमा भएका कारण तागत प्राप्त हुने गरेको बताउनुभयाे ।

जनयुद्धमा भोगिएको जेल जीवनको एउटा सानो पाटो किरातीको पुस्तकले ल्याउन खोजेपनि जुन रुपमा जनयुद्धको अन्वेषण हुनुपर्ने हो त्यो अझ्रै पनि हुन नसकेको अध्यक्ष प्रचण्डको अनुभव छ ।

असोज ४, २०८१ शुक्रबार ६:३८:५१