युवाहरुलाई उत्पादन र समृद्धिको फौज निर्माण गर्न प्रचण्डको आव्हान

काठमाडौं, भदौ २ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले समाजवादी समाज निर्माणका लागि युवाहरुलाई अघि बढ्न आव्हान गर्नुभएको छ ।
माओवादी केन्द्रनिकट योंग कम्युनिष्ट लिग ‘वाइसिएल नेपाल’को एकताको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले उत्पादन बिग्रेडका रुपमा अघि बढ्न आव्हान गर्नुभयो । “नेपालको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “युवाहरु संगठितरुपमा उत्पादन बिग्रेडको निर्माण गरेर अघि नबढ्दासम्म यो सम्भव छैन । आउनुस्, अब समृद्धिका लागि युवा फौज निर्माण गर्नुस्, उत्पादन बिग्रेड निर्माण गरेर समाजवादी क्रान्तिकोे दिशामा अघि हिड्नुस् ।” अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक क्रान्ति अझै पुरा नभएको भन्दै युवाहरुलाई मूलतः तीनवटा विषयमा ध्यान केन्द्रित गर्न आव्हान गर्नुभयो । “नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त कतिपय उपलब्धिहरु संविधानमा लेखिएका छन् । तर यी अझै संस्थागत हुन सकेका छैनन् ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर हाम्रो परिवर्तनका आन्दोलन टुंिगसकेको छैन । अब प्राप्त उपलब्धिमा टेकेर संगठित रुपमा अघि बढ्नु जरुरी छ ।” यथास्थितिवादी शक्तिहरुले प्राप्त उपलब्धी खोस्न ठूलो चलखेल गरिरहेको र नेपालको राजनीतिक इतिहासमा आन्दोलनपछिका उपलब्धिहरु अन्ततः यथास्थितिको चक्रव्यूहमा गएर टुंगिने प्रवृत्ति रहेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “अब युवाहरुले यो परिवर्तनलाई संस्थागत गर्न संगठित रुपमा प्रतिरोध गर्नु आवश्यक छ ।” अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समावेशी राज्यको परिचालन गर्न युवाहरु आर्थिक क्षेत्रमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालका युवाहरुले परिवर्तनका आन्दोलनमा खेलेको भूमिकाले संसारमा नै विशिष्ट उदाहरण बनेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, अब समाजवादी समाजको निर्माणका लागि उत्पादन र समृद्धिको फौज बनेर फेरी संसारलाई देखाउन युवाहरु अघि बढ्नुपर्छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले युवाहरुलाई उद्देश्यप्रतिको निष्ठा र देशप्रतिको समर्पण हुनुपर्नेमा जोड दिनुभयो । देशलाई एकताबद्ध पार्न र साँचो अर्थमा राष्ट्रियतालाई विकास गर्न युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “अहिले देशमा मधेशी अन्ध राष्ट्रवाद र पहाडी अतिवादी अहंकारवाद हावी रहेको छ ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “सबै वर्ग, जाति, क्षेत्र, भाषा, लिंग लगायतको हितमा आधारित साँचो राष्ट्रिय एकताका लागि युवाहरुले विशेष अभियान चलाउनु आवश्यक छ ।” अध्यक्षले एकले अर्कोलाई निषेध गर्ने राजनीतिले नश्लवाद र जातिवादलाई नै प्रश्रय दिने र त्यो फासीवादमा रुपान्तरित हुने खतरा रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले परिवर्तनका लागि धेरै नेपालीहरुको रगत बगेको, हजारौं वेपत्ता, अंगभंग घरबारविहिन भएको भन्दै माओवादी आन्दोलन एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “यो सबैको जिम्मेवारी हाम्रो काँधमा छ । अहिले माओवादीलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादीहरुले ठूलो षडयन्त्र गरिरहेका छन् । माओवादी कमजोर हुनु भनेको परिवर्तन संस्थागत नहुनु र यथास्थितिवादी हावी हुनु हो । त्यसैले शहीदका सपना पुरा गर्न समेत सबै माओवादी एक हुनुको विकल्प छैन ।” अध्यक्ष प्रचण्डले वैद्य, बाबुराम र विप्लवको नेतृत्व स्वीकार गरेर गएकाहरु सबै फर्किने बताउनुभयो । “म बढी त भन्दिनँ, तर अबको एक दुई हप्ताभित्रै सबै साथीहरु फर्किन्छन्” वहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कार्यक्रममा राजनीतिक स्थिरताले मात्रै समृद्धिमुलक राष्ट्रको निर्माण गर्न सकिने बताउँदै वर्तमान निर्वाचन प्रणालीलाई समेत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

कात्तिक ९, २०८१ शनिबार २:५:१३