अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर मोर्चाबन्दी भएको छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेकाे अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर मोर्चाबन्दी भएको बताउनुभएकाे छ । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।

कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको स्मरण गर्दै उहाँले नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको धारणा राख्नुभयाे ।

ओली संघीयता विरोधी, धर्मनिरपेक्षताविरोधी हो भन्ने मलाई थाहा थियो,’ उहाँले भन्नुभयाे, ‘उहाँको मनले मानेको थिएन, तर जनताको आँधीहुरी आएपछि त्यसैमा बगिदिएँ भनेर उहाँले भन्नुहुन्थ्यो ।’

वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएका भए पनि तीन वर्ष पुग्दा नपुग्दै यो दिन आइपुग्ला भन्ने नसोचिएको अध्यक्ष प्रचण्डले बताउनुभयाे । ओलीले असंवैधानिक कदम चालेकोले जनताले संघर्षबाटै सच्याउनुपर्ने बताउनुहुँदै प्रतिगमन नसच्चिएसम्म संघर्ष गरिराख्ने अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयाे ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चाताप नगर्दासम्म जनताले क्षमा नगर्ने बताउनुभयाे । उहाँले संविधान र लोकतन्त्रमाथि घात गरेर ओलीले इतिहासमा कलंकको टीका लगाएको र याे टीका पखाल्न उहाँले पश्चाताप नगरि सुख नपाउने अध्यक्ष प्रचण्डकाे भनाइ थियाे ।

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर केपी ओलीले संसद विघटनको प्रस्ताव गर्नुभयो त्यो गलत छ । सदन भंग भएको छैन । हामी माननीय सदस्यहरु अहिले पनि जीवित छौं । भंग भएको त केपी ओलीको सरकार हो । संविधानविरोधी काम गरेर केपी ओलीले आफूले आफूलाई विघटन गराएका छन् । केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्,’ उहाँले भन्नुभयाे, ‘त्यो कहिल्यै मेटिने छैन । जबसम्म केपी ओलीले पश्चताप गर्ने छैनन् । लोकतन्त्रमाथि मैले घात गरेँ । आफैं बनाएको संविधानको बलात्कार गरेँ । म अपराधी हुँ भन्ने छैनन् तबसम्म इतिहासले उनलाई माफी दिने छैन । नेपाली जनताले उनलाई क्षमा दिने छैनन् ।’

 उहाँले पार्टीको वैधानिकता र झन्डाको विषयमा घामजस्तै छर्लंग रहेको भन्दै अदालत र निर्वाचन आयोगप्रति आफूहरुको आस र भरोषा रहेको बताउनुभयाे । अदालतको सम्मान गर्ने भन्दै अध्यक्षले अन्तिम भरोषा भने जनता रहेको उल्लेख गर्दै भन्नुभयाे, ‘ हामी अदालतको सम्मान गर्छौं । आसा गर्छौं । भरोसा गर्छौं । तर सबभन्दा बढी अन्तिम भरोसा नेपाली जनतामा हो ।’

कात्तिक ७, २०८१ बुधबार २१:१३:०