राजनीतिक निकासका लागि दलहरुलाई अध्यक्ष प्रचण्डको आव्हान (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमका बिरुद्ध आन्दोलनमा रहेका दलहरुलाई अबको राजनीतिक निकासका लागि समझदारी र सहमतिका लागि आव्हान गर्नुभएको छ ।

राजधानीमा शनिवार दिउँसो बृहत नागरिक आन्दोलनको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मेरो कोशिस यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जे प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरुका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’ उहाँले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस् भनेर एकदुई दिन आफूले हेरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने पनि स्पष्ट पार्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘संसद् विघटनको विरुद्ध उभिएका दलबाटै समर्थन फिर्ता नलिन भन्दै दवाव छ, राजनीति उल्टो पर्छ कि भनेर । तर नैतिक र राजनीतिक रुपले अब माओवादी केन्द्रले समर्थन फिर्ता लिन धेरै दिन पर्खन सक्दैन । सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं ।’ उहाँले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले जनदवावका कारण ‘अदालतसँगको सेटिङ’ भत्किएको र संसद पुनःस्थापना भएको बताउनुभयो । नेकपाको एकता भत्काएर एमाले र माओवादी ब्युँताउने अदालतको निर्णय अस्वभाविक र अप्राकृतिक रहेको उहाँको भनाई थियो । उहाँले त्यसको लागि आफूहरु पुनरावलोकमा जाने जानकारी दिनुभयो ।

अध्यक्षले माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउनुहुँदै यसको विरुद्धमा आफू लड्न आफू तयार रहेको बताउनुभयो । मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:१९:१३