राजपासँगको सहमतिले मेरो मिसन सफल भएको छ, ‘प्रचण्ड’

श्रावण २८, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टी (राजपा) सँग भएको सहमतिले आफ्नो मिसन र मेहेनत सफल भएको बताउनु भएको छ ।
शनिबार दिउँसो माओवादीका दिवङ्गत नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मधेशी दलहरुलाई चुनावमा ल्याउने आफ्नो मिसन सफल भएको बताउनु भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छे र शक्तिहरु मधेश र पहाडका बीच द्धन्द्ध बढाउने, भीडन्त गराउने र त्यसको राजनीतिक फाइदा लिने षड्यन्त्रमा थिए । मधेशी दललाई चुनावभन्दा बाहिरै राखेर परिस्थितिलाई भड्काउने उनीहरुको षड्यन्त्र असफल भएको छ । हिमाल, पहाड र तराई–मधेशलाई जोड्न, मधेश केन्द्रित दललाई संविधानको दायरामा ल्याउन र चुनावमा लैजान मैले निरन्तर कोशिस गरें । हिजो मात्रै बालुवाटारमा नयाँ सहमति भएको छ, यसबाट मेरो मिसन र मेहेनत सफल भएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी प्रगतिशील राष्ट्रवाद र राष्ट्रिय एकताको पक्षमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशमा दुईखाले अतिवाद छन् । एउटा अतिवादले पहाडको मात्र कुरा गर्छ र मधेशमाथि अत्याचार गर्छ । अर्को अतिवादले मधेशलाई छुट्टै देश ठान्छ र पहाडलाई बदलाको भावनाले हेर्छ । यी दुवै घातक नश्लीय चिन्तन हुन् । यसले अन्ततः निरङ्कुशता हुँदै फासीवादमा लैजान्छ । हामी यी दुवै अतिवादबाट सतर्क हुनुपर्छ ।’
आफूले राष्ट्रिय एकता र सबैको समान अधिकारको कुरा गर्दा लम्पसारवादको आरोप खेप्नुपरेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामन्तहरुले मधेश होस् वा पहाड, उत्पीडित र गरीबहरुमाथि अत्याचार गर्दै आएका छन् । हामी सबै खाले उत्पीडन, अहङ्कारको विरुद्ध र न्यायको पक्षमा छौं । देशका गरीब, किसान, मजदुर, जनजाति, महिला, मुस्लिम, दलित, मधेशीलाई हेप्ने, बिखण्डन गर्न खोज्नेहरु राष्ट्रवादी हुने अनि हिमाल, पहाड र तराई–मधेश जोड्ने र राष्ट्रिय एकता चाहने र त्यसका लागि लड्ने हामी चाहिँ लम्पसारवादी ? यो अतिवादको भण्डाफोर जरुरी छ ।’


अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले हिजो राजा महाराजाकै गुणगान गाउनेहरु अहिले मधेशी अधिकारको कुरा गरेको बताउँदै मधेशी जनतामाथि भएको उत्पीडनका विरुद्ध जनयुद्धमा १३०० जनाले बलिदान गरेको बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय एकता र स्वाभिमानका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताउनु भयो ।
पेरिसडाँडाको कार्यक्रमअघि नुवाकोट–काठमाडौं जनसम्पर्क मञ्चले बालाजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले १० वर्षे योजनाका साथ माओवादी आन्दोलनलाई पूनर्संगठित गर्ने बहस थालिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजानेबारे शीर्ष तहमा बहस थालेका छौं । अब सबै माओवादीहरु एक ठाउँमा आएर नयाँ सोचसहित अगाडि बढ्न जरुरी छ । छिटै नै माओवादी धाराका साथीहरु आउनु हुन्छ ।’

 

कात्तिक ९, २०८१ शुक्रबार १२:१६:२५