रामचरण उत्पीडित वर्गको आदर्श नेता हुनुहुन्थ्यो, ‘प्रधानमन्त्री’

असोज १५, बर्दिया, खोल्टीबजार । प्रधानमन्त्री तथा ने.क.पा. (माओवाादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताउनु भएको छ ।
शनिबार बर्दियाको खोल्टीबजारमा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचरण थारुको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रामचरण उत्पीडित वर्गको आदर्श नेता हुनुहुन्थ्यो । उहाँ एक इमान्दार र कर्तव्यनिष्ठ नेता हुनुहुन्थ्यो । रामचरणलाई सम्झँदा पञ्चायतकालदेखि उहाँले गरेको त्याग र समर्पणको स्मरण भइरहेको छ । २०४६ सालको जनआन्दोलनभन्दा पहिला यस क्षेत्रको संगठन र संघर्षमा रामचरणले योगदान गर्नुभयो ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘रामचरणले कहिल्यै व्यक्तिगत स्वार्थ हेर्नुभएन । थारु समुदायमा जन्मिएर सर्वहारा वर्गको मुक्तिका लागि लड्ने उहाँ इमान्दार, सरल निश्छल नेता र अगुवा हुनुहुन्थ्यो । उहाँले जीवनभर त्यागको अनुपम उदाहरण प्रस्तुत गर्नुभयो । उहाँको मृत्यु पहाडभन्दा शक्तिशाली छ । उहाँबाट सिक्ने कुरा इमान्दारिता, सादगीपन, पारदर्शिता र जनताको पक्षमा समर्पित हुने नेता हुनुहुन्थ्यो ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘नयाँ संविधान गतिशील छ । तर, हामीले चाहेर पनि संविधान जारी गर्दा जनताका सबै चाहना सम्बोधन गर्न सकेनौं । गतिशील चरित्र भएका कारण हामीले संविधानमा सबैको अपनत्व कायम गराउने प्रयासमा छौं । हामी सबैको भावना समेटेर संविधान कार्यान्वयन र निर्वाचनतिर जानेछौं ।’
कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य वर्षामान पुन ‘अनन्त’, कार्यालय सदस्य कूलप्रसाद के.सी. ‘सोनाम’, सचिवालय सदस्य लेखराज भट्ट, पोलिट्व्यूरो सदस्य महेश्वर गहतराज, मायाप्रसाद शर्मा, विष्णुप्रसाद थारु, हरिराम थारु, कैलाली जिल्ला ईन्चार्ज तिलकराम शर्मा लगायतका वक्ताहरुले नेता रामचरण थारुको जीवनी र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

_DSC2692

कात्तिक ७, २०८१ बुधबार १२:१४:१