राष्ट्र बिखण्डन गर्ने प्रस्ताव सैह्य हुँदैनः प्रधानमन्त्री

पुस ३, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले मधेश, पहाड र हिमाललाई एकताबद्ध पार्ने गरी संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै यसले राष्ट्रलाई अझ एकतावद्ध पार्ने स्पष्ट गर्नुभएको छ । उहाँले संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै गलत प्रचार भइरहेको बताउँदै यस्तो प्रचार गर्नेहरु नै बिखण्डनकारी भएको बताउनु भएको छ ।
आज दिउसो विराटनगरमा ने.क.पा.(माओवादी केन्द्र) प्रदेश नम्बर १ को प्रशिक्षण तथा बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उहाँले हिजो एमाले स्वयंले अघि सारेको प्रस्ताव अहिले आफूले अघि सार्दा सदन अवरुद्ध गर्ने तथा ‘राष्ट्रघाती’ भन्दै बदनाम गर्ने काम एमाले नेतृत्ववाट भइरहेकोमा आपत्ति प्रकट गर्दै एमालेको यस्तो रबैयाले राष्ट्र बिखण्डन गर्न चाहनेहरुलाई फाइदा पुगेको बताउनु भयो । ‘अहिले संशोधन प्रस्ताव पेश हुन नदिने, निर्वाचन विधेयक पास गर्न नदिने, स्थानीय चुनाव गर्न नदिने र संविधान कार्यान्वयनमा भाँजो खाल्ने खेल भइरहेको छ । एमालेले ५ नं प्रदेशको कुरा उठाएको मात्र सिमांकनका लागि होइन, यसभित्र संविधान कार्यान्वयन नगर्ने र संघियता उल्ट्याउने उद्देश्य लुकेको छ । उसका सबै क्रियाकलाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र एकात्मकता तथा उच्च जातीय अहंकारवादी योजना कार्यान्वयन गराउन केन्द्रित देखिन्छन् ।’
प्रधानमन्त्रीले जन्मजात गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षताका बिरोधीहरुलाई आफूहरुले जनयुद्धका माध्यमवाट त्यसलाई मान्न बाध्य पारे पनि अहिले माओवादी केही कमजोर भएको ठानेर उनीहरु प्राप्त उपलब्धी खोस्ने षडयन्त्रमा लागेको प्रष्टाउनु भयो । उहाँले दशौ हजार नेपालीले रगत वगाएर प्राप्त गरेका यी उपलब्धी कसैले षडयन्त्र गर्दैमा खोस्न नसक्ने बताउँदै जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलब्धी रक्षाका लागि जुटन पार्टी पङ्तिलाई निर्देशन दिनु भयो ।
प्रधानमन्त्रीले क्रान्तिकारी कम्युनिष्टहरुको एकतामा जोड भन्नुभयो ‘हामी माओवादीले छुट्टै पहिचान र इतिहास निर्माण गरेका हौं । यसमा गर्व गर्न सक्दैनौ भने हामीलाई इतिहासले पोल्ने छ । माओवादी सबैलाई एकतावद्ध पार्ने र विभिन्न ठाउँमा छरिएका क्रान्तिकारी कम्युनिष्टलाई एकतावद्ध पार्न हामीले पहलकदमी लिनै पर्छ । इतिहास, वर्तमान र भविष्यको रक्षा गर्न सबै माओवादी एक हुनुपर्छ । वामपन्थी, क्रान्तिकारीहरुलाई जोड्न हाम्रो कोशिस हुनु पर्छ ।’
अहिले पार्टी र नेतृत्वबिरुद्ध अर्नगल र एकदमै झुठ्ठा प्रचार भइरहेको तर्फ इंगित गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘म प्रधानमन्त्री हुनासाथ बिरोधीले यसलाई बिदेशीले प्रधानमन्त्री बनायो, अब फाष्ट ट्याक विदेशीलाई दिन्छ भनेर प्रचार गरे, तर फाष्ट ट्याक नेपाली आफैले बनाउने मेरो निर्णयपछि उनीहरु गलत सावित भए । उनीहरुले फेरि अंगिकृतलाई राष्टपति बनाउछ भनेर हल्ला चलाए, त्यो पनि गलत सावित भएपछि हिन्दी भाषाको कुरा उठाए, यो पनि हल्ला मात्रै रहेछ भन्ने पुष्टि भएपछि अहिले माओवादी नेतृत्वलाई बदनाम गराउन हुँदै नभएका प्रचार गरिरहेका छन् । अव यसवाट कोही पनि भ्रममा पर्दैनन् । अरुका हल्लाका पछि दौडने होइन बास्तविकता बुझ्न म सबैलाई आग्रह गर्दछु ।’
प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि काठमाडौंको लोडसेडिङ पुरै हटेको, जल विद्युत आयोजना निर्माणका काम द्रुतस्तरमा अघि बढेको, भुकम्प पीडितलाई पहिलो किस्ताको राहत रकम दिइएको, मध्य पहाडी लोकमार्ग, सिक्टा सिंचाई आयोजना, मेलम्ची खानेपानी लगायतका महत्वपूर्ण आयोजनाका काम सन्तोसजनक ढंगले अघि बढेको, मूल्यबृद्धि दश बर्षबीचमै सबैभन्दा कम भएको, देशको राजश्व र राष्ट्रिय ढुकुटीमा आर्थिक बृद्धि भएको, जनता पेन्सन, गरिवका लागि सरकार, युवालाई रोजगार तथा कृषि आधुनिकीकरण जस्ता योजना अघि बढाउने निर्णय गरिएको जानकारी दिनु भयो ।

कात्तिक ७, २०८१ बुधबार २३:४१:२९